२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बिपीको सालिकमा मोसो दलेको भन्ने खबर गलत : बाँके प्रहरी

बिपी कोइरालाको सालिकमा मोसो दलेको भन्ने खबर गलत भएको बाँके प्रहरीले स्पष्ट पारेको छ।



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या १३५
  • नेपालगञ्ज, चैत्र २४ — नेपालगञ्जस्थित बिपी कोइरालाको सालिकमा मोसो दलेको भन्ने खबर गलत भएको बाँके प्रहरीले स्पष्ट पारेको छ।

    बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले शनिबार साँझ नेपालगञ्जमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताले निकालेको राँके जुलुसका क्रममा बालेको आगो निभाउने क्रममा प्रयोग गरिएका भिजेका बोराका टुक्रा उडेर सालिकमा टाँसिएको स्पष्टीकरण दिएका छन्।

    ‘बिपीको सालिकमा मोसो दलेको वा तोडफोड प्रयास भएको भन्ने कुरा सही होइन,’ डीएसपी पातलीले भने, ‘राप्रपाका कार्यकर्ताले निकालेको जुलुस निभाउने क्रममा कपडाको टुक्रा उडेर सालिकमा टाँसिन पुगेको मात्रै हो।’

    यसै विषयमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो फेसबुक स्टाटसमार्फत सालिकमा मोसो दलिएको र तोडफोड गरिएको आरोप लगाएका थिए। तर प्रहरीले पोखरेलको दाबीलाई असत्य र भ्रामक भएको जनाएको छ।

    डीएसपी पातलीका अनुसार भिडियोमा सालिकमा कालो पोतेजस्तो देखिएपछि प्रहरीले बिहान पुनः स्थलमा गई स्थलगत निरीक्षण गर्दा त्यहाँ कुनै कालो वस्तु वा चिज नदेखिएको बताएका छन्।

    प्रहरीले अनावश्यक हल्लामा नलाग्न सर्वसाधारणलाई अनुरोध गर्दै घटनालाई राजनीतिक रंग दिन नहुने स्पष्ट पारेको छ।