दाङ, वैशाख १० – नेपाल कम्युनिस्ट पार्टी निकट सामना परिवारद्वारा आयोजित समाजवादी सांस्कृतिक अभियान यही वैशाख १२ गते दाङको घोराहीबाट सुरु हुने भएको छ।
सामना परिवारले जनवादी गीत, संगीत र सांस्कृतिक कार्यक्रममार्फत समाज परिवर्तनको सन्देश फैलाउने उद्देश्यले अभियान सुरु गर्न लागेको हो। अभियानको उद्घाटन कार्यक्रममा जनवादी गीतकार तथा संगीतकार माइला सी (माइला लामा) र पूर्वमन्त्री समेत रहेका चर्चित गीतकार-संगीतकार मणि थापाको विशेष प्रस्तुति रहनेछ।
सामना परिवारका अनुसार यो अभियान दाङबाट सुरु भई बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसम्म सञ्चालन गरिनेछ। कार्यक्रममा सामना परिवारसँगै अन्य विभिन्न जनकलाकारहरूको समेत सहभागिता रहनेछ।
यसअघि सो अभियानले देशका पूर्वी जिल्लाहरूमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिसकेको थियो। साथै, सामना अभियानले दुई–तीन महिनासम्म काभ्रे जिल्लामा श्रम अभियान सञ्चालन गरिसकेको छ।
हाल कलाकारहरूको टोली मकवानपुरको हेटौंडामा एक हप्ते तयारी (ट्रेनिङ)मा रहेको र वैशाख १२ गते दाङको घोराही पुगेर कार्यक्रम प्रस्तुत गर्ने तय भएको सामना परिवारले जानकारी दिएको छ।
यस अभियानमार्फत नेपाली समाजमा जनचेतना अभिवृद्धि गर्नुका साथै समाजवादप्रति जनताको आकर्षण बढाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस