नेपालगन्ज, बाँके — आगलागीको जोखिम बढ्दो रहेकाले बाँके जिल्लामा रहेका सबै दमकललाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गर्दै आठै स्थानीय तहलाई इन्धन, पानी र चालकसहित दमकल तयारी अवस्थामा राख्न अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले दमकलको जनशक्ति व्यवस्थापनमा विशेष ध्यान दिइएको बताउँदै तीनवटा स्थानीय तहमा मात्रै दमकल रहेको जानकारी दिए।
हाल नेपालगन्ज उपमहानगरपालिकामा तीनवटा, कोहलपुर नगरपालिकामा एकवटा र नरैनापुर गाउँपालिकामा एकवटा दमकल रहेको छ। बाँकी पाँच स्थानीय तह भने अझै पनि दमकलविहीन छन्।
नेपालगन्ज विमानस्थलमा दुईवटा र नेपाल आयल निगम राँझामा एउटा दमकल रहेको छ। यिनै दमकलहरू जिल्लाभित्र र बाहिरका आगलागीका घटनामा खटिइरहेका छन्।
बैठकले आगलागी नियन्त्रणका लागि दमकल चालक र सुरक्षाकर्मीलाई फायर इमर्जेन्सी तथा फायर फाइटिङसम्बन्धी तालिम दिन प्राविधिक सहयोगमा डिएलएसए (DLSA) सँग समन्वय गर्ने निर्णय समेत गरेको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गर्मीयाम सुरु भएसँगै आगलागी तथा डढेलोको जोखिम उच्च भएको जनाउँदै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
डिभिजन वन कार्यालयले कार्ययोजना निर्माण गरी लागू गर्ने, जनचेतनामूलक सन्देश विभिन्न भाषामा तयार गरी प्रचारप्रसार गर्ने तथा आगलागी नियन्त्रणका सामग्रीहरूको समुचित व्यवस्थापन गर्ने निर्णय गरिएको आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए।
बैठकमा चैत २७ गते राति आएको हुरीबतास र २७–२८ गतेको वर्षाले पुर्याएको क्षतिबारे समेत जानकारी आदानप्रदान गरिएको छ। आगलागी प्रभावित ६ घरपरिवारलाई हालसम्म ३५ हजार ५०० रुपैयाँ राहत रकम वितरण गरिएको छ।
साथै, डुडुवा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय वनकट्टी (ख) मा क्षति पुगेकाले दुई थान टेन्ट र चार थान त्रिपाल उपलब्ध गराइएको बैठकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस