काठमाडौँ, वैशाख १- लोकतन्त्र दिवसको अवसरमा नेकपा एमालेले वैशाख ११ गते एक लाख युवालाई काठमाडौँमा उतार्ने तयारी गरेको छ। एमाले निकट युवा सङ्घ नेपालले यसलाई ‘लोकतन्त्रको सेलेब्रेसन’को रूपमा मनाउने जनाएको छ।
युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले देशभरका युवालाई राजधानीमा भेला गरिने जानकारी दिए। उपाध्यक्ष कृष्णहरि केसीका अनुसार कार्यक्रममा युवाका एजेन्डा र समस्या बारे छलफल हुनेछ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यो महोत्सवबाट ‘युवा शक्ति के हो’ भन्ने देखाउने बताएका छन्। कार्यक्रम भृकुटीमण्डप वा टुँडिखेलमध्ये कुनै एक स्थानमा हुनेछ।
२०६२/६३ को जनआन्दोलनपछि लोकतन्त्र दिवसका रूपमा मनाइने वैशाख ११ गते एमालेले ठूलो शक्ति प्रदर्शन गर्न लागेको हो।
प्रतिक्रिया दिनुहोस