६ बैशाख २०८२ शनिबार | 19 Apr 2025 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

वाणगंगा नगरपालिकालाई नेकपाको ज्ञापनपत्र: अवैध उत्खनन रोक्न सात बुँदे माग

ज्ञापनपत्रमार्फत पार्टीले निर्माण कम्पनीले सम्झौताभन्दा बढी नदीजन्य सामग्री उत्खनन गरी राज्यको सम्पत्ति दोहन गरेको गम्भीर आरोप लगाएको छ।



  • अञ्जना ढकाल
  • हिंजो प्रकाशित
  • पाठक संख्या ३४
  • कपिलवस्तु, वैशाख ५ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कपिलवस्तु जिल्ला समितिले वाणगंगा नगरपालिकालाई एक सात बुँदे ज्ञापनपत्र बुझाउँदै बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक निर्माणका क्रममा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खनन तत्काल रोक्न माग गरेको छ।

    ज्ञापनपत्रमार्फत पार्टीले निर्माण कम्पनीले सम्झौताभन्दा बढी नदीजन्य सामग्री उत्खनन गरी राज्यको सम्पत्ति दोहन गरेको गम्भीर आरोप लगाएको छ। नेकपाले स्थानीय ऐन, नियम तथा वातावरणीय सन्तुलनको समेत उल्लंघन भइरहेको भन्दै कडा आपत्ति जनाएको छ।

    ज्ञापनपत्रमा नेकपाले अवैध उत्खननमा संलग्न व्यक्तिहरूको विवरण सार्वजनिक गर्नुपर्ने, दोहोरो डम्पिङ बन्द गर्नुपर्ने, ड्युटी समय बाहिर हुने प्राविधिक कार्य रोक्नुपर्ने र कार्यस्थलमा मापदण्ड विपरीत भइरहेका गतिविधिहरू तत्काल बन्द गर्नुपर्ने माग राखेको छ।

    पार्टीले यस विषयमा संचार माध्यम, नागरिक समाज र आम जनसमुदायको समेत ध्यानाकर्षण गराउँदै यदि मागहरू तत्काल पूरा नभए त्यसको सम्पूर्ण जिम्मेवारी वाणगंगा नगरपालिकाले लिनुपर्ने चेतावनी दिएको छ।

    ज्ञापनपत्रमा उल्लेख गरिएका प्रमुख सात मागहरू यस प्रकार छन्:

    १. अवैध उत्खननमा संलग्नहरूको हिसाबकिताब सार्वजनिक गरिनु पर्ने।

    २. दोहोरो डम्पिङ तत्काल बन्द गरिनु पर्ने।

    ३. ड्युटी समय बाहिर हुने प्राविधिक कार्य रोकिनु पर्ने।

    ४. कार्यस्थलमा मापदण्ड विपरीतका कार्यहरू बन्द गरिनु पर्ने।

    ५. मापदण्डभन्दा गहिरो उत्खनन नहोस् भनी प्राविधिक खटाइनु पर्ने।

    ६. डम्पिङ साइडको सतह भत्किने गरी भइरहेको उत्खनन कार्य तत्काल बन्द गरिनु पर्ने।

    ७. दोहन कार्यलाई कानुनी वा प्राविधिक रूपमा सहयोग पुगेको आभास भइरहेकाले नगरपालिका स्वयं जिम्मेवार बन्नुपर्ने।

    नेकपाले पेस गरेको ज्ञापनपत्रले वाणगंगा क्षेत्रमा भइरहेको नदीजन्य पदार्थको दोहनलाई लिएर स्थानीय तह, सरोकारवाला निकाय र सर्वसाधारणमा चासो थपेको छ। अब नगरपालिकाले यस विषयमा के कदम चाल्नेछ भन्ने प्रतीक्षामा सबैतिर दृष्टि केन्द्रित भएको देखिन्छ।