काठमाडौँ, वैशाख ७ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा थाइल्यान्ड जान लागेका छन्। देउवा निकट स्रोतका अनुसार उनी आइतबार राति बैंकक प्रस्थान गर्दैछन्। देउवाको यो यात्रा आँखाको फलोअप उपचारका लागि भएको बताइएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलका अनुसार सभापति देउवा उपचार बाहेक अन्य कुनै राजनीतिक एजेन्डाका लागि थाइल्यान्ड जान लाग्नु भएको छैन। “उहाँ आज राति १२ बजे बैंकक जाँदै हुनुहुन्छ। यो नियमित स्वास्थ्य परीक्षण र आँखाको फलोअप उपचारका लागि हो,” पौडेलले जानकारी दिए।
हाल मुलुकको राजनीतिक अवस्था तरल रहेको र सत्ता साझेदार दलभित्र असन्तुष्टि देखिएको बेला देउवाको विदेश यात्रा अर्थपूर्ण रूपमा हेरिएको छ। एमाले नेतृत्वको सरकारप्रति कांग्रेसभित्रै असन्तुष्टि बढ्दै गएको छ भने एकातिर राजावादी आन्दोलन, अर्कोतिर शिक्षक आन्दोलन पनि चलिरहेको छ।
यसैबीच देउवाकी पत्नी तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि बैंकक जान लागेकी छन्। उनी थाइल्यान्डमा २१ देखि २५ अप्रिलसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (UNESCAP) को ८१औँ सत्रमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल हाल UNESCAP को अध्यक्ष राष्ट्र हो। मन्त्री डा. राणाले उक्त सत्रको अध्यक्षता गर्नेछिन् र नेपालका तर्फबाट सम्बोधन पनि गर्नेछिन्। सो सत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग विषयमा छलफल हुने कार्यक्रम रहेको छ।
नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारीहरू रहने छन्।
प्रतिक्रिया दिनुहोस