काठमाडौं, वैशाख ९ - नेपाल कम्युनिस्ट पार्टीले १५६ औं लेनिन जयन्ती र ७७ औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा विभिन्न वामपन्थी दलका ७७ जना नेता तथा कार्यकर्ता प्रवेश गरेका छन्।
पार्टीका प्रवक्ता प्रकाण्डले सञ्चालन गरेको उक्त कार्यक्रममा महासचिव विप्लव सीको अध्यक्षता रहेको थियो। प्रवक्ता प्रकाण्डले आजको दिन महत्त्वपूर्ण भए पनि ७७ वर्षसम्म कम्युनिस्ट आन्दोलनले सफलता प्राप्त गर्न नसकेको बताए।
उनले माओवादी पार्टीले पनि जनतालाई सम्बोधन गर्न नसकेको र अहिले दलाल पुँजीवादी तथा सामन्तवादीहरूले टाउको उठाएको अवस्थामा यो दिनले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
नेकपा (माले) का केन्द्रीय सदस्य तिलक नौपानेले २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी विभाजन र टुटफुटको बाटोमा हिँडेको स्मरण गर्दै पुष्पलाल श्रेष्ठको पालामा पनि पार्टी फुटेको बताए। उनले अब सबै कम्युनिस्टहरू एक हुनुपर्नेमा जोड दिँदै माथिका नेताहरू नमिल्दा पनि तल्लो तहका नेताहरू मिल्नुपर्ने अनुभव सुनाए।
श्रमजीवी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नवराज भट्टले आफ्नो जीवनकालमा माओवादी केन्द्रविरुद्ध विभिन्न पार्टी फुटेको उल्लेख गर्दै १८ पटक माओवादी घटक भएको बताए। उनले नेपाली विशेषतासहितको समाजवादले सबै कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउन नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा नेकपा (माले) का केन्द्रीय सदस्य तिलक न्यौपानेसहित ९ जना सम्पर्क मञ्चबाट, एमालेका राजु नेपालीबाट ४ जना, एसएस कलेज कीर्तिपुरबाट नेकपा ध्रुवीकरणका वसन्त रावलसहित ७ जना, स्वतन्त्र देशभक्त राजनैतिक मञ्चका अध्यक्ष तेजप्रसाद बुढासैनी र उपाध्यक्षसहित १० जना, नेपाल तेस्रो च्याउ विज्ञ ऋषि लाल तामाङ, नेपाली कांग्रेसका क्षेत्रीय समिति सदस्य तथा राष्ट्रिय अनुसन्धान विभागका पूर्व एसपी वीरबल थापासहित ४ जना गरी जम्मा ७७ जना नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्।
प्रतिक्रिया दिनुहोस