२९ साउन २०८२ बिहिबार | 14 Aug 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आतङ्कवादी हमलाको प्रतिशोधस्वरूप हवाई आक्रमण, शिक्षा क्षेत्रमा असर

सीमामा तनाव चुलिँदा जनजीवन प्रभावित, विद्यालयहरू अनिश्चितकालका लागि बन्द



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १०६
  • काठमाडौँ, वैशाख २४ - भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा रहेका आतङ्ककारी अड्डाहरूमा हवाई आक्रमण गरेपछि कश्मीर र वरपरका विभिन्न क्षेत्रका शैक्षिक संस्था बन्द गरिएका छन्।

    भारत नियन्त्रित कश्मीरका जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ जिल्लाका सबै विद्यालय, कलेज तथा अन्य शैक्षिक संस्था तत्कालका लागि बन्द गरिएको छ।

    त्यस्तै, पाकिस्तानले पनि आफ्ना सीमावर्ती क्षेत्र विशेषगरी पञ्जाब प्रान्तका विद्यालयहरू बन्द गरेको छ। पञ्जाबकी मुख्यमन्त्री मरियम नवाज शरीफले जनसुरक्षालाई मध्यनजर गर्दै सम्पूर्ण शिक्षण संस्था र परीक्षा स्थगित गर्ने निर्णय लिएको घोषणा गरेकी छन्।

    भारतले यो हवाई आक्रमण गएको महिनाको कश्मीरको पहलगाममा २६ जना पर्यटकको ज्यान गएको आतङ्कवादी हमलाको प्रतिशोधस्वरूप गरेको बताइएको छ।

    भारतीय सञ्चारमाध्यमहरूले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरका नौ स्थानमा मिसाइल प्रहार गरिएको र ती हमलामा दर्जनौँको मृत्यु भएको दाबी गरेका छन्।

    भारत–पाकिस्तानबीच बढ्दो तनावका कारण सीमावर्ती क्षेत्रहरूमा त्रासको वातावरण सिर्जना भएको छ। सुरक्षाका दृष्टिले सर्वसाधारणलाई सतर्क रहन समेत आग्रह गरिएको छ।