नवलपुर, वैशाख २३ - नारायणघाट–बुटवल सडक खण्डअन्तर्गत दाउन्ने क्षेत्रमा सोमबार बिहान परेको वर्षाका कारण सडक अवरुद्ध भएको छ।
चार लेनमा विस्तार भइरहेको सडकको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र पैँसट्ठी मोड नजिकको भागमा सडक चिप्लो र हिलो भएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक जनकराज बञ्जाराका अनुसार पानीले सडक चिप्लो भएपछि दुर्घटना हुन सक्ने भन्दै रोक लगाइएको हो। "पानी पर्न रोकिएपछि डोजरमार्फत हिलो हटाएर सवारी साधन गन्तव्यतर्फ पठाइनेछ," उनले भने।
राति ६ घण्टा बन्द गरेर निर्माण कार्य भइरहेको यो सडक खण्ड सामान्य पानी पर्दा समेत अवरुद्ध हुने गरेको छ। यसले यात्रुहरूलाई दैनिकजसो सास्ती खेप्न बाध्य बनाएको छ।
नारायणघाट–बुटवल सडक विस्तार आयोजनाका अनुसार आगामी असारसम्ममा अधिकांश निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित काम तीव्र रुपमा भइरहेको छ। यद्यपि, वर्षाको कारण नियमित अवरोध हुँदा यात्रु तथा सवारी चालकहरू मारमा परेका छन्।
प्रतिक्रिया दिनुहोस