२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मिटरब्याज तथा लघुवित्त पीडितलाई अन्तिमसम्म लड्न महासचिव विप्लव सीको आह्वान

महासचिव विप्लव सीले मिटरब्याज तथा लघुवित्त पीडितहरूलाई अन्तिमसम्म लड्न आह्वान गरेका छन्।



  • अञ्जना ढकाल
  • ४ घण्टा अघि
  • पाठक संख्या ९४
  • धनुषा, वैशाख २३ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लव सीले मिटरब्याज तथा लघुवित्त पीडितहरूलाई अन्तिमसम्म लड्न आह्वान गरेका छन्।

    आज धनुषाको ढल्केबरमा आयोजित पीडितहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पीडितहरूको न्यायको पक्षमा पार्टीले पूर्ण साथ दिने प्रतिबद्धता जनाए।

    कार्यक्रम नेकपा केन्द्रीय सदस्य सिला सीको सञ्चालनमा सम्पन्न भएको थियो भने स्थायी कमिटी सदस्य अनिल सीको अध्यक्षता रहेको थियो। नेकपा पीबीएम देवनारायण सीले स्वागत मन्तव्य दिँदै मधेसमा मिटरब्याज र लघुवित्त पीडितहरूको संख्या लाखौं रहेको जानकारी गराए। उनले पीडितहरूका लागि पार्टी सधैँ सडकदेखि सदनसम्म लड्ने बताए।

    कार्यक्रममा सहभागी पीडितहरूले आफ्ना पीडादायी अनुभवहरू साझा गरे। एक पीडितले भने, “७ हजार ऋण लिएको थिएँ, अहिले ६ लाख तिर्दै छु, घरबार समेत गुमेको छ।” अर्का पीडितले भने, “सामान्य ऋण लिएर करोडौं सम्पत्ति रोक्का पारिएको छ, पीडितलाई नै जेल हालिएको छ।”

    स्थानीयहरूले सत्तामा रहेका सामन्तीहरूले जनतामाथि अन्याय गरिरहेको आरोप लगाए। उनीहरूले राज्यबाट न्यायको सट्टा थप पीडा मात्रै पाइरहेको गुनासो गरे।

    मुख्य वक्ता महासचिव विप्लव सीले मधेसमा मिटरब्याज र लघुवित्त गम्भीर समस्या बनेको उल्लेख गर्दै भने, “तपाईंहरू आफ्नो समस्याविरुद्ध अन्तिमसम्म लड्नुहोस्, हाम्रो पार्टी तपाईंहरूको साथमा छ।”

    कार्यक्रमको अन्त्यमा सहभागीहरूले नारा जुलुससहित विरोध प्रदर्शन गरे। सहभागीहरूको भनाइमा, कार्यक्रममा मिटरब्याज तथा लघुवित्त पीडितहरूको आवाज बुलन्द गर्न र उनीहरूको पीडालाई सार्वजनिक ऐजेन्डा बनाउने कार्यमा सकारात्मक सन्देश दिएको छ।