२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ड्रागन खेतीको प्रवर्द्धनमा नेकपाको पहल : गण्डकीमा नर्सरी स्थापना, विप्लवद्वारा उद्घाटन

नेकपा गण्डकी प्रदेशले ड्रागन खेतीका लागि नर्सरी स्थापना गरेको छ।



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या २९९
  • पोखरा, वैशाख २२ – व्यावसायिक ड्रागन खेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशले ड्रागन खेतीका लागि नर्सरी स्थापना गरेको छ। पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एक विशेष कार्यक्रमका बीच नर्सरीको उद्घाटन गरेका हुन्।

    नर्सरीका लागि आवश्यक बीउ नेपालका प्रतिष्ठित कफी व्यवसायी सोभाखर अधिकारीले प्रदान गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै अधिकारीले स्वदेशी उत्पादनलाई टेवा पुर्‍याउने नेकपाको अभियानमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे।

    पार्टीले उत्पादनमुखी अर्थतन्त्रको आधार तयार गर्न देशव्यापी रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाउँदै गण्डकी प्रदेशमा नर्सरी स्थापना गरिएको हो। पार्टीको भनाइअनुसार यो कदमले फलफूल खेतीको विविधीकरण तथा कृषकहरूको आम्दानी वृद्धि गर्नमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    महासचिव विप्लवले उद्घाटन समारोहमा बोल्दै कृषि क्षेत्रको विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। “हाम्रो उत्पादनमुखी नीति सफल बनाउन सबैको सक्रिय भूमिका आवश्यक छ,” उनले भने।

    कार्यक्रममा नेकपाका अन्य नेता, कार्यकर्ता र स्थानीय कृषकहरूको उपस्थिति थियो। पार्टीले निकट भविष्यमा अन्य प्रदेशहरूमा पनि यस्तै उत्पादनमूलक कार्यक्रम विस्तार गर्ने योजना बनाएको छ।