टोखा, वैशाख १७ - नेकपा जिल्ला पार्टी काठमाडौं टोखा नगरपालीकाका इन्चार्ज अर्जुन सीको सक्रियतामा सी ग्रामेन्ट उद्योग सञ्चालनमा आएको छ। पार्टीको "आत्मनिर्भर कार्यकर्ता, आत्मनिर्भर पार्टी" भन्ने मूल नारालाई साकार पार्ने उद्देश्यले यो उद्योग स्थापना गरिएको हो।
काठमाडौ स्थानीय पार्टी इन्चार्ज अर्जुन सीले युवाहरूलाई रोजगारीको अवसर प्रदान गरी विदेश पलायन हुने क्रमलाई रोक्ने लक्ष्य राखेका छन्। यसै सन्दर्भमा, कुलेश्वरमा सञ्चालित सी ग्रामेन्ट उद्योगले हालसम्म १३ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिसकेको छ।
यसैबीच, टोखा नगरपालिका इन्चार्ज अर्जुन सी, जो समाजवादी सम्पर्क मञ्चको सचिवालय सदस्य तथा नेकपाको प्रतिनिधि सदस्य पनि हुन्, र नेकपा प्रतिनिधि सदस्य सिर्जना सीले संयुक्त रूपमा नेकपा केन्द्रीय कार्यालयका महासचिव विप्लव सीको टीमलाई सी ग्रामेन्टमा उत्पादित ट्र्याकसुट हस्तान्तरण गरेका छन्। आफ्नै कार्यकर्ताले उत्पादन गरेको सामग्री पार्टीका शीर्ष नेतालाई हस्तान्तरण गर्नुले आत्मनिर्भरताको अभियानलाई थप बल पुगेको छ।
सी ग्रामेन्टको स्थापनाले स्थानीय स्तरमा आर्थिक गतिविधि बढ्ने र युवाहरूलाई आफ्नै ठाउँमा काम गर्ने वातावरण सिर्जना हुने विश्वास लिइएको छ। पार्टीले लिएको यो कदम अन्य स्थानीय तहका लागि पनि अनुकरणीय बन्न सक्छ।
प्रतिक्रिया दिनुहोस