२० बैशाख २०८२ शनिबार | 03 May 2025 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

१३६औं अन्तर्राष्ट्रिय मजदुर दिवस देशभर मनाइँदै, अवस्था भने उस्तै

हरेक वर्ष झिलिमिली समारोहका साथ मनाइने यो दिवसले पनि श्रमिकको वास्तविक अवस्था भने परिवर्तन गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरिँदै आएको छ।



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ४८
  • काठमाडौँ, वैशाख १८- आज १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १) देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। राजधानी काठमाडौंसहित देशभरका प्रमुख सहरहरूमा विभिन्न राजनीतिक दलहरू, श्रमिक संगठनहरू र संघसंस्थाहरूले र्याली, सभाजस्ता कार्यक्रम गरी दिवस मनाइरहेका छन्।

    राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका उच्च पदस्थ व्यक्तित्वहरूले मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिँदै श्रमिक वर्गको योगदानको प्रशंसा गरेका छन्। तर, हरेक वर्ष झिलिमिली समारोहका साथ मनाइने यो दिवसले पनि श्रमिकको वास्तविक अवस्था भने परिवर्तन गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरिँदै आएको छ।

    नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदन अनुसार नियमित रोजगारी गर्ने श्रमिकको संख्या ११ प्रतिशतले घटेको छ। प्रतिष्ठानहरूमा नियमित श्रमिकको सङ्ख्या घट्दै जानुका साथै श्रम ऐनको कार्यान्वयनमा समेत चुनौती थपिएको प्रतिवेदनमा उल्लेख छ।

    देशभर विभिन्न क्षेत्रमा नियमित, समयगत, कार्यगत, आंशिक श्रमिकहरू कार्यरत छन्। तर तिनीहरूको अधिकार, सुरक्षा र स्थायीत्वप्रति अझै गम्भीर ध्यान नपुगेको श्रमिक नेताहरूको भनाइ छ।

    सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा मजदुरहरूले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै ऐतिहासिक आन्दोलन गरेका थिए। त्यस आन्दोलनको स्मरणमा सन् १८९० देखि हरेक वर्ष मे १ का दिन विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने परम्परा सुरु भएको हो।

    नेपालमा भने पहिलोपटक २००७ सालमा विराटनगरमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो। सरकारले मजदुर दिवसमा सार्वजनिक बिदा दिने चलन कायम राख्दै आएको छ।

    आजको दिन श्रमिकहरूको सम्मान गर्ने दिन भए पनि उनीहरूको जीवनस्तरमा सुधार ल्याउने ठोस पहल अझै आवश्यक रहेको सरोकारवालाहरूको धारणा छ।