२० बैशाख २०८२ शनिबार | 03 May 2025 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा विप्लवको शुभकामना सन्देश : समाजवादको पक्षमा उभिन अपिल

उनका अनुसार नेपाली विशेषताको समाजवाद–वैज्ञानिक समाजवाद नै नेपालको भविष्यको बाटो हो भन्ने पार्टीको दृढ विश्वास छ।



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ६२
  • काठमाडौं, वैशाख १९ –१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश तथा विदेशमा रहेका सम्पूर्ण श्रमिकहरू, न्यायप्रेमी जनसमुदायलाई शुभकामना व्यक्त गरेका छन्।

    शुभकामना सन्देशमार्फत उनले श्रमिक वर्गको अधिकार, मुक्ति र वैज्ञानिक समाजवाद-साम्यवाद स्थापनाका लागि संघर्ष गर्ने क्रममा सहादत प्राप्त गर्ने विश्वभरिका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

    महासचिव विप्लवले मे १ लाई श्रमिक वर्गले पुँजीवादद्वारा लादिएका विभेद, शोषण, दमनका विरुद्ध चलाएको ऐतिहासिक मुक्ति संघर्षसँग जोडिएको दिनको रूपमा व्याख्या गर्दै, यस पर्वलाई गौरव र सम्मानसाथ मनाउन आह्वान गरेका छन्।

    उनले विश्वभर श्रमिक वर्ग र पुँजीवादी सत्ता बीच जारी संघर्षको सन्दर्भ उल्लेख गर्दै अझै पनि श्रमिकहरू शोषण र उत्पीडनको चपेटामा रहेको उल्लेख गरेका छन्।

    शुभकामना सन्देशमा भनिएको छ, "हाम्रो देश नेपाल हाल दलाल पुँजीवादी राज्यसत्ता र साम्राज्यवादी हस्तक्षेपको शिकार बनेको छ। भ्रष्टाचार, दलाली, कमिसनखोरी र तस्करीले देश आक्रान्त छ।"

    विप्लवले वर्तमान संकटको निकासका लागि तीन धारहरू प्रस्तुत भएका भन्दै संसदवादी, पूर्वराजावादी र समाजवादी मोर्चाका धारहरूको चर्चा गरेका छन्। उनका अनुसार नेपाली विशेषताको समाजवाद–वैज्ञानिक समाजवाद नै नेपालको भविष्यको बाटो हो भन्ने पार्टीको दृढ विश्वास छ।

    महासचिवले सन्देशमार्फत सम्पूर्ण नेपाली श्रमिक वर्गलाई एकताबद्ध हुँदै समाजवादको पक्षमा उभिन आह्वान गरेका छन्। "श्रम नै समृद्धिको आधार हो, श्रमिकवर्ग नै समृद्धिको नेतृत्वकर्ता हो," सन्देशमा भनिएको छ, "नेपाली जनताको स्वाभिमान, उन्नति र समृद्धिको एक मात्र विकल्प नेपाली विशेषताको समाजवाद हो।"

    उनले अन्त्यमा मई १ को अवसरमा सम्पूर्ण नेपाली श्रमिक तथा जनता समक्ष नेपाली विशेषताको समाजवादका पक्षमा उभिन र सक्रिय बन्न विशेष अपिल समेत गरेका छन्।