हेटौंडा, वैशाख ३० - बागमती प्रदेश युवा सम्मेलन १० बुँदे घोषणापत्र जारी गर्दै मंगलबार सम्पन्न भएको छ। "सृजनशीलता र उद्यमशीलता प्रवर्द्धन : बागमतीमा युवा सशक्तीकरण" भन्ने नारासहित हेटौंडामा आयोजित सम्मेलनमा शिक्षा, सिप, उद्यमशीलता, नीति नेतृत्व, जलवायु परिवर्तन, डिजिटल प्रविधि लगायतका विषयमा गहिरो छलफल गरिएको थियो।
सम्मेलनमा कृषि, प्रविधि, शिक्षा, जलवायु, नेतृत्व र युवाको सहभागिता सम्बन्धी ६ शीर्षकमा प्यानल छलफल गरिएको थियो। छलफलका आधारमा तयार पारिएको घोषणापत्रमार्फत युवाका विचारलाई आर्थिक लाभसँग जोड्ने उद्देश्यले युवा परियोजना बैङ्क स्थापना गर्न तीन तहको सरकार र निजी क्षेत्रको सहकार्यको माग गरिएको छ।
घोषणापत्रमा परियोजना बैङ्कमार्फत छनौट भएका योजनामा बीउ पुँजी र बिना धितो सहुलियत ऋण उपलब्ध गराउनुपर्ने, नवप्रवर्तनमा आधारित औपचारिक र अनौपचारिक शिक्षा प्रणाली सबै स्थानीय तहमा लागू गर्नुपर्ने र नीति निर्माण तहमा युवाको सहभागिता अनिवार्य गरिनुपर्ने माग राखिएको छ।
त्यस्तै, स्थानीय सरकारको योजना, नीति तथा बजेट निर्माणमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै युवामैत्री बजेट तयार गर्न, सबै स्थानीय तहमा युवा परिषद् गठन गर्न र सीपमा आधारित स्वरोजगारको लागि अनुदान, सहुलियत ऋण र सहकारी प्रणाली कार्यान्वयन गर्नुपर्ने माग पनि घोषणा पत्रमा उल्लेख छ।
जलवायु परिवर्तनसँग सम्बन्धित संकट समाधानका लागि हरित रोजगारी र जलवायु न्यायमा युवाको नेतृत्वमा आधारित कार्यक्रम सञ्चालन, मानसिक स्वास्थ्य परामर्श केन्द्र स्थापना, स्मार्ट कृषि प्रविधि र एग्रो स्टार्टअपका लागि नवप्रवर्तन कोष स्थापना गर्नुपर्ने प्रस्ताव राखिएको छ।
डिजिटल साक्षरतामा जोड दिँदै विद्यालय तहदेखि कम्प्युटर, एआई तथा डिजिटल उद्यमशीलता तालिम सुरु गर्न, साइबर सुरक्षा, डाटा गोपनीयता र डिजिटल अधिकारबारे जनचेतना अभिवृद्धि गर्न र प्रत्येक स्थानीय तहमा डिजिटल पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने पनि घोषणापत्रमा समेटिएको छ।
सम्मेलनमा जारी घोषणापत्र परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंले प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनलाई हस्तान्तरण गरेका थिए।
प्रतिक्रिया दिनुहोस