१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

वैकल्पिक शक्तिसँग सहकार्य गर्न नेसपाद्वारा राजनीतिक संवाद समिति गठन

मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १६८
  • काठमाडौं, वैशाख ३१ - नेपाल समाजवादी पार्टी (नेसपा–नयाँ शक्ति)ले विचार मिल्ने वैकल्पिक तथा अग्रगामी शक्तिहरूसँग सहकार्य गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ।

    मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।

    समितिमा उपाध्यक्ष मानुषी यमी भट्टराई, महासचिव सोनाम सिङ स्याङ्तान र जीएस गुरुङ सदस्य रहेका छन्। पार्टीका प्रवक्ता कृष्ण शर्माका अनुसार, संवाद समितिले समभाव, समदृष्टिकोण भएका वैकल्पिक शक्तिहरूसँग सहकार्यका सम्भावनामा छलफल र समन्वय गर्नेछ।

    पार्टीले यही जेठ ३० गते काठमाडौँमा स्थापना दिवस भव्य रूपमा मनाउने तयारी गरेको छ। देशभरका प्रदेश र स्थानीय तहहरूमा वृक्षारोपण, सरसफाइ, श्रमदान, रक्तदान, स्वास्थ्य शिविर लगायतका रचनात्मक कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ।

    बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले भारत प्रवासको क्रममा आयोजित अधिवेशनमा भाग लिँदै त्यहाँका शीर्ष राजनीतिक नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूसँग नेपालको राष्ट्रिय हितका विषयमा उच्चस्तरीय संवाद गरेको उल्लेख गरिएको छ।

    बैठकले उक्त संवादले नेपाल–भारत सम्बन्ध, आपसी हित र नेपालको लोकतान्त्रिक प्रणाली सुदृढ गर्न सकारात्मक योगदान दिएको ठहर गरेको छ।

    अध्यक्ष भट्टराईले मुलुक ढिलो चाँडो वैकल्पिक राजनीतिको स्पष्ट मार्गचित्रमा अघि बढ्ने विश्वास व्यक्त गर्दै नयाँ सोच र विचारसहित जनतामाझ पुग्न सबै पदाधिकारीहरूलाई आह्वान गरेका थिए।