काठमाडौँ, जेठ २ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा अनेक खालका चलखेल भइरहेकाे आरोप लगाएका छन्।
शुक्रबार बैतडीको पाटनबाट सुरु भएको जागरण अभियानको उद्घाटन गर्दै उनले सरकार सुशासनको खिलाफमा अगाडि बढिरहेको दाबी गरे। उनले भने, “राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्त हुनुपर्ने पद हो, तर अहिलेसम्म सरकारले नियुक्त गर्न सकेको छैन। यसमा अनेक खालका चलखेल भइरहेको छ। सरकार गलत दिशामा गइरहेको छ।”
प्रचण्डले राष्ट्र र जनताको हित विपरित सरकारले काम गरिरहेको भन्दै आलोचना गरे। उनले भने, “सरकार मजदुर र किसानको हितमा छैन। त्यसैले हामीले सरकारलाई चुनौती दिँदै खबरदारीको अभियान थालेका छौँ।”
उनले मध्यपहाडी लोकमार्ग माओवादीकै पहलमा निर्माण भएको दाबी गर्दै १८८९ किलोमिटर क्षेत्रफलभित्र पर्ने १० ठूला स्मार्ट सिटी निर्माणको अवधारणा पनि माओवादीकै नेतृत्वमा ल्याइएको बताए।
प्रचण्डले सरकारले प्रतिपक्षी दलको आवाज नसुन्ने प्रवृत्ति अपनाएको भन्दै भ्रष्टाचार र विकृतिलाई संरक्षण गरे ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी समेत दिए।
प्रतिक्रिया दिनुहोस