काठमाडौँ, जेठ ६ – काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले सात बुँदे स्पष्टीकरण सोधेका छन्।
गुरागाईंले पाण्डेमाथि कर्मचारी आचरण उल्लंघन, सञ्चारमाध्यममा अनधिकृत रूपमा अभिव्यक्ति दिने, जनप्रतिनिधिहरूसँग अमर्यादित व्यवहार गर्ने, वातावरण उत्तेजित बनाई द्वन्द्व निम्त्याउने, र आफूमाथि कार्यालय प्रवेशमा अवरोध पुर्याएको लगायतका आरोप लगाएका छन्।
महानगर स्रोतका अनुसार पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई कार्य गर्न नदिएको, शान्तिपूर्ण वातावरण बनाउन दिइएको निर्देशनको अवज्ञा गरी द्वन्द्वको स्थिति सिर्जना गरेको लगायतका विषयमा स्पष्टीकरण सोधिएको हो।
पाण्डेलाई सात दिनभित्र लिखित रूपमा स्पष्टीकरण दिन सूचित गरिएको छ। यदि समयमा स्पष्टीकरण नदिएको वा चित्तबुझ्दो नभए कानुन अनुसार आवश्यक कारबाही गरिने महानगरपालिकाको पत्रमा उल्लेख छ।
यस विषयमा प्रतिक्रिया माग्दा पाण्डेले छोटो जवाफ दिँदै भने, “यस विषयमा म केही बोल्दिनँ, बाँकी तपाईं आफैं बुझ्नुस्।”
प्रतिक्रिया दिनुहोस