११ जेठ २०८२ आईतबार | 25 May 2025 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपालमै पहिलोपटक मस्तिष्कमृत व्यक्तिबाट एकै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण सफल

चिकित्सकहरूका अनुसार यस्तो किसिमको जटिल शल्यक्रिया विश्वमै दुर्लभ मानिन्छ।



  • अञ्जना ढकाल
  • ७ घण्टा अघि
  • पाठक संख्या ३४
  • काठमाडौँ, जेठ ११ — शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमै पहिलोपटक मस्तिष्कमृत व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ। चिकित्सकहरूका अनुसार यस्तो किसिमको जटिल शल्यक्रिया विश्वमै दुर्लभ मानिन्छ।

    अस्पतालका निर्देशक तथा प्रत्यारोपण शल्यचिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा काठमाडौँ मेडिकल कलेजको सहकार्यमा उक्त शल्यक्रिया सम्पन्न भएको हो। उनले भने, "संसारकै जटिल शल्यक्रियामध्ये एक मानिने दुई अंग एकैपटक प्रत्यारोपण हुनु विरलै पाइन्छ।"

    प्रत्यारोपण गरिएको अर्का एक मिर्गौला ४२ वर्षीया महिलामा सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। चिकित्सकका अनुसार दुबै बिरामीको स्वास्थ्यस्थिति सन्तोषजनक रहेको र केही दिनमै डिस्चार्ज गर्ने तयारी भइरहेको छ।

    प्रत्यारोपणका लागि प्रयोग भएका मिर्गौला र कलेजो १ जेठमा मस्तिष्क मृत्यु भएका १८ वर्षीय पुरुषबाट प्राप्त गरिएको हो। अंग निकाल्ने प्रक्रिया काठमाडौं मेडिकल कलेजले सम्पन्न गरेको थियो।

    शल्यक्रियामा डा. पुकार श्रेष्ठको नेतृत्वमा डा. रोशन घिमिरे, डा. प्रविण महर्जन, डा. दिपेश श्रेष्ठ, डा. रुपेश कुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारी, डा. विकास खड्का लगायतका चिकित्सक तथा एनेस्थेसिया, क्रिटिकल केयर, र नेफ्रोलोजी विभागका विशेषज्ञहरूको टोली संलग्न थियो।

    प्रतिष्ठानले हालसम्म १५ जनामा मस्तिष्कमृत व्यक्तिबाट मिर्गौला वा कलेजो प्रत्यारोपण गरिसकेको छ। २०७४ साल वैशाख २८ गते पहिलोपटक मस्तिष्कमृत व्यक्तिबाट दुई मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसयता ६ जना व्यक्तिबाट १२ जनाको मिर्गौला र ४ जनाको कलेजो प्रत्यारोपण भएको छ।

    नेपालमा दैनिक ४ देखि ६ जनाको सडक दुर्घटनामा मृत्यु हुने तथ्यांक छ। विशेषज्ञहरूका अनुसार काठमाडौं उपत्यकामा मात्र वार्षिक झन्डै एक हजार मस्तिष्कमृत हुने अनुमान छ।

    डा. श्रेष्ठ भन्छन्, “मस्तिष्क मृत्यु भएपछि खेर जाने अंगले अर्को कसैलाई नयाँ जीवन दिन सक्छ। एउटा मस्तिष्कमृत व्यक्तिबाट दुई मिर्गौला, दुई फोक्सो, एक कलेजो, एक मुटु, एक प्याङ्क्रियाज र एक सानो आन्द्रा गरी आठ जनालाई पुनर्जीवन दिन सकिन्छ। यो भन्दा ठूलो महादान अरू के हुन सक्छ र?”