काठमाडौं, जेठ १८ – बचतकर्ताको २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र वीर रायलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट ६५ वर्षीय रायलाई नियन्त्रणमा लिएको हो।
सीआईबीका प्रहरी उपरीक्षक तथा प्रवक्ता युवराज खड्काका अनुसार रायले कर्णाली डेभलपमेन्ट बैंकमा संकलित २५० करोड रुपैयाँभन्दा बढीको बचत रकम हिनामिना गरेका थिए। घटनापछि उनी फरार भएका थिए।
उनविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गत मुद्दा दायर गरिने तयारी भइरहेको छ। घटनाबारे नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
यस प्रकरणले बैंकिङ प्रणालीमा पार्न सक्ने असर र बचतकर्ताको भरोसा गुम्न सक्ने जोखिमका कारण यस मामिलालाई गम्भीर रूपमा लिइएको सीआईबीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस