नवलपरासी, जेठ १९ - पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौली चोकस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान एम्बुलेन्स र स्कुल भ्यान एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
बुटवलबाट बिरामी लिएर नारायणघाटतर्फ गइरहेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र दुम्कौली जाँदै गरेको दिव्य एकेडेमी बोर्डिङ स्कुलको भ्यान साढे ८ बजे ठोक्किएको हो।
दुर्घटनामा स्कुल भ्यानका चालक देवचुली नगरपालिका–१ निवासी ५२ वर्षीय कुलप्रसाद सुवेदी गम्भीर घाइते भएका थिए। टाउको र दुवै खुट्टामा चोट लागेका सुवेदीलाई उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएको थियो। तर, बिहान ९:२० बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
एम्बुलेन्समा सवार बुटवल उपमहानगरपालिका–३ गोलपार्ककी ३६ वर्षीया लक्ष्मी राई, २५ वर्षीया इसु राई र २५ वर्षीया स्नेहा परियार घाइते भएका छन्। उनीहरू बिरामी लिएर चितवनतर्फ जाँदै थिए।
यस्तै, स्कुल भ्यानमा रहेका देवचुली गाउँपालिका–१७ की आयुसा गौतम र गाउँपालिका–४ का ६ वर्षीय सोखनिया रोक्का सामान्य घाइते भएका थिए। उनीहरूलाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
घटनापछि एम्बुलेन्समा सवार बिरामीलाई अर्को एम्बुलेन्समा राखेर चितवन पठाइएको छ।
प्रतिक्रिया दिनुहोस