२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बुढीगण्डकी प्रभावितको उचित व्यवस्थापनको माग गर्दै नेकपाद्वारा ज्ञापनपत्र, सरकारलाई आन्दोलनको चेतावनी



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या २५८
  • गोरखा, जेठ २९ - नेपाल कम्युनिस्ट पार्टी (विप्लव नेतृत्व) गोरखा अन्तर्गत आरुघाट गाउँपालिका समितिले बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावित गरिब, किसान, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको उचित व्यवस्थापनको माग गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

    प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधित ज्ञापनपत्र बुझाउने क्रममा नेकपा जिल्ला इन्चार्ज कपिल सी, जिल्ला सेक्रेटरी काजी सी लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

    ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले आफुले सम्बन्धित निकायहरूसँग समन्वय गरी समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

    बुढीगण्डकी परियोजनाबाट पीडितहरूको नेतृत्व नेकपा आरुघाट गाउँपालिका सेक्रेटरी ताराबहादुर सीले गरेका थिए। उनीहरूले आयोजनाको नाममा वर्षौँदेखि गरिब र किसानहरू अन्यायमा परेको भन्दै उचित मुआब्जा वितरण र पुनःस्थापना माग गरेका छन्।

    ज्ञापनपत्रमा उल्लेख भएअनुसार बुढीगण्डकी आयोजना सुरु भएको लामो समय बितिसक्दा पनि सरकारको अस्थिरताको कारण आयोजना अघि बढ्न नसकेको आरोप लगाइएको छ। धेरै पीडितहरूले अहिलेसम्म मुआब्जा पाउन सकेका छैनन् भने, सरकारले मुआब्जा वितरण गरिसकेको जग्गा समेत स्थानीय तह र निकायहरूले भाडामा दिने, पैसा असुल्ने जस्ता गतिविधि गरेको भन्दै गम्भीर आपत्ति जनाइएको छ।

    गाउँपालिकाको पनि यसप्रति चासो नराखेको नेकपाले आरोप लगाएको छ। तीन प्रमुख दलको राजनीतिक अस्थिरताका कारण मुआब्जा वितरणमा ढिलाइ र आयोजनाको भविष्य अन्योलमा परेको भन्दै पार्टीले गुनासो पोखेको छ।

    नेकपाले चेतावनी दिंदै भनेको छ, "यदि पीडितको माग सम्बोधन भएन र सरकारले जनताको आवाज नसुन्यो भने, कालो झण्डा देखाएर आन्दोलनको मार्ग रोजिनेछ।"