काठमाडौं, असार १– नेपाल सरकारले भन्सार महसुल ऐन, २०८१ को दफा १३ को उपदफा (३) बमोजिम, २०८२ साल जेठ १५ गतेदेखि लागु हुने गरी नेपाल आउँदा वा जानदा यात्रुहरूले निजी प्रयोगका लागि ल्याउन वा लैजान सक्ने वस्तुहरूमा लाग्ने भन्सार महसुल सम्बन्धी विस्तृत सूचना सार्वजनिक गरेको छ।
यो व्यवस्था आधिकारिकता मुद्रण विभागबाट प्रमाणित भएपछि मात्र लागू हुनेछ।
ल्याउन पाइने वस्तुहरू र छुट
विदेशबाट फर्किने नेपाली तथा नेपाल प्रवेश गर्ने विदेशी यात्रुहरूले निम्न वस्तुहरू ल्याउँदा भन्सार महसुल लाग्ने छैन:
३२ इञ्चसम्मको टेलिभिजन एक थान (एक पटकका लागि मात्र)
बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक/एक थान
पेशागत सामग्री (डाक्टर, खेलाडी, गायकका लागि प्रयोग हुने उपकरणहरू)
७ किलोसम्म खाद्यान्न
१ लिटरसम्म मदिरा वा १२ क्यान बियर
२०० खिल्ली चुरोट, ५० सिगार वा २५० ग्राम टोबाको (प्रचलित महसुल लागेर जाँचपास)
१० हजारसम्मका औषधि (निषेधित बाहेक), ५ हजारसम्मका खाद्य परिकार, २ हजारसम्मका फलफूल
वैदेशिक रोजगारीबाट फर्केकाहरूका लागि विशेष सुविधा
६ महिना वा बढी काम गरी फर्किएका श्रमिकले उपयुक्त प्रमाणसहित आफैंले ल्याएको वा हुलाक/कार्गोमार्फत पठाएको वस्तुमा पूर्ण महसुल छुट पाउनेछन्।
१२ महिना वा सोभन्दा बढी समय काम गरी फर्किएका श्रमिकले जुनसुकै आकारको टेलिभिजन एक थान महसुल छुटसहित ल्याउन सक्नेछन्।
थप एक थान नयाँ मोबाइल फोन पनि महसुल छुटसहित ल्याउन पाउनेछन्।
मृत्यु, सेवानिवृत्ति र विद्यार्थीका लागि व्यवस्था
विदेशमा निधन भएका नेपाली नागरिक वा उनका परिवारले ल्याएको घरायसी सामग्रीमा पूर्ण महसुल छुट हुनेछ।
भारतीय सेना वा प्रहरीबाट सेवानिवृत्त भई नेपाल फर्किएका नेपाली नागरिकले प्रमाणित कागजात पेश गरेमा एकपटकको लागि ५० हजार रुपैयाँसम्मका घरायसी सामानमा महसुल छुट पाउनेछन्।
भारतमा अध्ययनरत नेपाली विद्यार्थीले आफ्नो साथमा ल्याएको लैपटप, ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एक थानमा महसुल लाग्ने छैन।
गैरआवासीय नेपाली (NRN) का लागि विशेष प्रबन्ध
गैरआवासीय नेपाली यात्रुले आफू NRN भएको प्रमाण पेश गरेमा अन्य यात्रुहरूलाई दिइएको जस्तै सुविधा पाउनेछन् – अर्थात् ऐनको उपदफा (१), (३), (४) अनुसार छुट सुविधा प्रदान गरिनेछ।
अन्य व्यवस्था
छ महिनाभन्दा बढी विदेश बसेर फर्किएमा:
६ महिना – १ वर्ष बस्नेले: १५ हजार रुपैयाँसम्मको वस्तुमा महसुल छुट
१ वर्षभन्दा बढी बसेको खण्डमा: २५ हजार रुपैयाँसम्म
१६ वर्षमुनिका यात्रुले उपदफाबाट प्राप्त हुने छुटको ५०% मात्र उपयोग गर्न सक्नेछन्।
विदेशबाट पठाइएको वस्तु:
अमेरिकी डलर ५०० सम्मको वस्तु आफन्तलाई पठाउँदा महसुल तिरि जाँचपास गर्न सकिने
५०० डलरभन्दा बढी मूल्यको वस्तुमा समेत अग्रिम भुक्तानी प्रमाण आवश्यक नपर्ने
प्रतिबन्ध र नियन्त्रण
वस्तुको मूल्य न्यून देखाई पठाएको पाइएमा सो वस्तु जफत वा अधिक मूल्य बराबर जरिवाना र महसुल लिई मात्र जाँचपास गरिनेछ।
क्रु मेम्बरहरूले आफ्नो निजी प्रयोग बाहेक अन्य कुनै वस्तु ल्याउन पाउने छैनन्।
स्थलमार्गबाट सिमाना पार गर्ने यात्रुहरूले भन्सार छुट सुविधा नपाउने छन्। तर १ सय रुपैयाँसम्मका व्यक्तिगत वस्तुहरूमा भन्सार प्रमुखले औचित्य हेरी छुट दिन सक्नेछन्।
कुनै यात्रुले लुकाई छिपाई वस्तु ल्याएको वा नियम विपरीत ल्याएको पाइएमा सो वस्तु जफत गरिनेछ र कानुनी कारबाही हुनेछ।
प्रतिक्रिया दिनुहोस