१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

‘निलो रिबन’सहित संसद पुगे रास्वपाका सांसदहरू

लेखकको राजीनामा माग गर्दै निरन्तर संसदमा विरोध जनाउँदै आएका उनीहरू मंगलबार ‘निलो रिबन’ लगाएर संसद पुगेका हुन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ४३२
  • काठमाडौं, असार ३ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू आज विशेष पहिरनसहित संसद भवन पुगेका छन्।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै निरन्तर संसदमा विरोध जनाउँदै आएका उनीहरू मंगलबार ‘निलो रिबन’ लगाएर संसद पुगेका हुन्।

    रास्वपाको पार्टी रङ निलो भएजस्तै, यसले मानव तस्करीविरुद्धको सन्देश समेत बोकेको पार्टीको दाबी छ। सांसद मनिष झाले भने, “मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’को प्रतीकले जनाउँछ।”

    यसअघि आइतबार र सोमबार पनि रास्वपाले विरोध जनाइरहेका बेला सभामुख देवराज घिमिरेले संसदको कारबाही अगाडि बढाएका थिए। आज पनि संसदको नियमित कारबाही अघि बढाउने तयारी गरिएको छ।

    यद्यपि, सभामुख देवराज घिमिरे दलहरूसँगको छलफलमै व्यस्त रहेको कारण आज १ बजेका लागि तोकिएको बैठक भने निर्धारित समयमा सुरु हुन सकेको छैन।

    रास्वपाले संसदभित्रको विरोधका साथै यसरी प्रतीकात्मक तरिकाबाट पनि मानव तस्करीजस्तो गम्भीर विषयमा सशक्त सन्देश दिने प्रयास गरेको देखिएको छ।