६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नीलो रिबन लगाउने रास्वपा सांसदहरूलाई कारबाही गर्न कांग्रेसको माग

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नियमावलीको उल्लंघन भएको भन्दै आपत्ति जनाए।



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १२८
  • काठमाडौं, असार ३ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले मंगलबार प्रतिनिधिसभाको बैठकमा नीलो रिबन लगाएर उपस्थिति जनाएपछि सो विषयले संसदमा विवाद उत्पन्न भएको छ। सोही कारण बैठक सुरु भएको केही समयमै स्थगित गरिएको छ।

    बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरूले उभिएर विरोध जनाए। सभामुख देवराज घिमिरेले रास्वपाका सांसद चन्दा कार्कीलाई बोल्ने समय दिएका थिए। कार्कीले भिजिट भिसाको नाममा ट्राभल एजेन्सी, एअरलाइन्स, अध्यागमन विभाग र गृह मन्त्रालयको संलग्नतामा मानव तस्करी भइरहेको गम्भीर आरोप लगाइन्।

    “सरकार किन यस्तो मुद्दामा मौन छ? २०६४ सालदेखि चल्दै आएको मानव तस्करीको जालो च्यात्न जरुरी छ,” उनले भनिन्। साथै, छानबिन समिति बनाएर सुशासनको सुनिश्चितता गर्न माग गर्दै उनले सरकारका तर्फबाट आएको धम्कीप्रति प्रश्न उठाइन्। उनले गृहमन्त्रीलाई अपराधी नभनेको स्पष्ट पार्दै तर कारबाहीको प्रक्रियामा रहेका व्यक्तिलाई मन्त्रालयमा राख्नु गलत भएको धारणा व्यक्त गरिन्।

    उनको भनाइपछि विपक्षी सांसदहरू थप आक्रोशित बनेर विरोधमा उभिए। कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नियमावलीको उल्लंघन भएको भन्दै आपत्ति जनाए। उनले “सांसदहरू मर्यादित पोशाकमा आउनुपर्ने” नियमको उल्लंघन गर्दै स्कार्फ (रिबन) लगाएको विषयमा प्रश्न उठाउँदै कारबाहीको माग गरे।

    मंगलबारको बैठकमा रास्वपाका सबै सांसदहरू नीलो रिबन बाँधेर संसदमा उपस्थित भएका थिए, जसलाई संकेतपूर्ण विरोधको रूपमा हेरिएको छ। यो विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच तिक्तता बढेको देखिन्छ।