कुवेत, असार ११ — गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कुवेतले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कुवेतमा अर्को अधिवेशन आयोजना गर्ने भनिएको गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ।
परिषद्ले बद्री केसी समूहद्वारा आगामी जुलाई १८ तारिखमा एनआरएनएको नाम दुरुपयोग गर्दै अधिवेशन गर्ने तयारीप्रति अस्वीकार जनाउँदै उक्त कदमलाई संस्थाको एकता, स्थायित्व र मर्यादाविरुद्धको कार्यको रूपमा व्याख्या गरेको छ।
विज्ञप्तिमा भनिएको छ कि बद्री केसी पक्षले विगतमा उच्चस्तरीय समिति (HLC) द्वारा अगाडि सारिएको महाधिवेशनलाई अस्वीकार गर्दै आएको तथ्य सबैमा ज्ञात छ। तर, सोही महाधिवेशनलाई परराष्ट्र मन्त्रालयले औपचारिक मान्यता दिएको अवस्थामा पनि उक्त समूहले HLC पक्षधर कुवेत समितिलाई बाइपास गर्दै एकपक्षीय रूपमा अर्को अधिवेशनको तयारी थालेको उल्लेख गरिएको छ। परिषद्ले यस्ता कार्यलाई ‘दुई ढुङ्गामा खुट्टा टेक्ने’ प्रवृत्ति भनी निन्दा गरेको छ र एकताका लागि चाँडै वार्तामा बस्न आह्वान गरेको छ।
गैर आवासीय नेपाली संघ, कुवेतको HLC पक्षधर अधिवेशन यस वर्ष मार्च २८ मा सम्पन्न भइसकेको र सो अधिवेशनमा तत्कालीन केन्द्रीय उपाध्यक्ष थर्कबहादुर सेनको विशेष उपस्थिति रहेको परिषद्ले जनाएको छ। सो अधिवेशनबाट बेलबहादुर (बी.बी.) मल्ल ठकुरी सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन भइसकेकाले हालको कार्यसमिति नै वैधानिक तथा आधिकारिक भएको स्पष्ट गरिएको छ।
परिषद्का अनुसार, अध्यक्ष मल्ल ठकुरीले HLC सँग पहिल्यै सम्झौता (MOU) गरिसकेको अवस्थामा पछिल्लो समय महेश श्रेष्ठ नेतृत्वमा गरिएको अर्को सम्झौतामा केही प्राविधिक त्रुटिहरू भेटिएकाले त्यसलाई मान्यता दिन नसकिने अवस्था रहेको जनाएको छ। यद्यपि दुबै पक्षबाट हस्ताक्षर भए तापनि HLC सँग सहकार्य गर्दै आएको र त्यसको आधिकारिक प्रतिनिधित्व गर्ने समूह भनेकै मल्ल ठकुरी नेतृत्वको कार्यसमिति हो भन्ने पनि स्पष्ट पारिएको छ।
विज्ञप्तिमा बद्री केसी पक्षले केन्द्रबाट प्रतिबन्धित सदस्यता व्यवस्थापन प्रणाली (MIS) प्रयोग गरी सदस्यता संकलन गरेको आरोप लगाइएको छ। परिषद्का अनुसार उक्त प्रणाली हाल केन्द्रको मातहत नरहेकाले यस प्रणालीको प्रयोग पूर्णतः गैरकानुनी र संस्थाको नियमविपरीत रहेको छ। त्यसैले MIS बाट बनाइएका पञ्जिकृत सदस्यहरुलाई मान्यता दिन नसकिने पनि उल्लेख गरिएको छ।
अन्त्यमा परिषद्ले कुवेतमा रहेका सम्पूर्ण नेपाली समुदायलाई यस्तो गैरजिम्मेवार, भ्रामक र अवैधानिक गतिविधिमा नपर्न आग्रह गर्दै संस्थाको एकता, स्थायित्व र मर्यादा जोगाउन सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औंल्याएको छ। परिषद् पूर्णतः विधिसम्मत र आधिकारिक रूपमा निर्वाचित कार्यसमिति नै कुवेतमा एनआरएनएको प्रतिनिधि भएको भन्दै अन्य कुनै भ्रममा नपर्न अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस