काठमाडौं, भदौ ३ - प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको भूमिकामाथि प्रश्न उठाउँदै प्रधानमन्त्री नियुक्ति र बर्खास्तीमा समेत अदालतले हस्तक्षेप गर्ने गरेको आरोप लगाएका छन् ।
राष्ट्रिय सूचना आयोगले मंगलबार आयोजना गरेको १९औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उनले भने, “प्रधानमन्त्री संसदबाट चुनिन्छ । तर कहिलेकाहीँ अदालतलाई झोक चल्दा प्रधानमन्त्री बर्खास्ती वा नियुक्त गर्ने गरेको हाम्रो अनुभव छ ।”
उनका अनुसार संविधानको व्याख्याता अदालत भएकाले व्याख्याको नाममा अनुकूल निर्णय दिँदा संवैधानिक व्यवस्थालाई नै प्रभावित पार्ने अवस्था देखिएको छ । “अदालतको कुर्सीमा बसेपछि व्याख्या गर्ने अधिकार हुन्छ, तर कहिलेकाहीँ त्यही अधिकार प्रयोग गरेर प्रधानमन्त्री नियुक्त वा हटाउने काम भएको पनि देखिन्छ,” ओलीले बताए ।
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक अभ्यास निरन्तरता दिँदै देश पूर्ण लोकतन्त्रतर्फ अघि बढिरहेको दाबी पनि गरे ।
प्रतिक्रिया दिनुहोस