२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ओली–देउवा छलफल : रास्वपाको माग सम्बोधन गर्दै उपसभामुख पदमुक्त गर्ने सहमति



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १४५
  • काठमाडौं, भदौ ३ — प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको कांग्रेस र एमालेबीचको बैठकमा उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्ने विषय प्राथमिक एजेन्डा बनेको छ।

    बैठकमा प्रारम्भमा सामाजिक सञ्जालसम्बन्धी विधेयकबारे छलफल भए पनि अन्ततः ध्यान उपसभामुख हटाउने प्रक्रियामै केन्द्रित भएको सहभागी नेताहरूले जनाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाले निरन्तर उठाउँदै आएको माग सम्बोधन गर्नुपर्ने भन्दै उपसभामुखलाई पदमुक्त गर्ने प्रस्ताव अघि सारेका थिए।

    ‘रास्वपाका सांसदहरू दुई महिनादेखि मानव तस्करीविरुद्ध नाराबाजी गर्दै आएका छन्। उनीहरूको माग हामी पूरा गर्न सक्छौं। उपसभामुखमाथि नै गम्भीर आरोप छन् भने अब प्रक्रिया अघि बढाउनुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक नेताले बताए।

    बैठकमा कांग्रेसका नेताहरूले पनि सहमति जनाएपछि दुवै दलले आफ्ना सांसदलाई मंगलबार बिहान संसदीय दलको कार्यालयमा उपस्थित रहन निर्देशन दिएका छन्।

    जानकारहरूको भनाइमा, प्रधानमन्त्री ओली केही महिनादेखि नै उपसभामुखलाई पदमुक्त गर्न इच्छुक थिए, तर कांग्रेस सभापति शेरबहादुर देउवा राजी नभएको कारण प्रक्रिया अघि बढ्न सकेको थिएन। तर पछिल्लो परिस्थितिमा कांग्रेस पनि सकारात्मक देखिएको छ।

    सर्वोच्च अदालतमा संवैधानिक पदाधिकारीसम्बन्धी मुद्दा विचाराधीन रहँदा उपसभामुखबाट अपेक्षित सहयोग नपाएको ओली पक्षले अब राजनीतिक जवाफ दिनुपर्ने ठहर गरेको स्रोतले बतायो।

    बैठकमा सहभागी एक नेताले भने, ‘रास्वपाले लगातार संसद् अवरुद्ध गर्दै आएको छ। त्यसलाई सम्बोधन नगरी बस्दा सरकारको छवि प्रभावित भएको छ। त्यसैले उपसभामुखलाई पदमुक्त गरेर स्पष्ट सन्देश दिनुपर्ने निष्कर्षमा पुगेका हौं।’