२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बुटवल–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध, वैकल्पिक मार्ग पनि बन्द

दुम्कीवास क्षेत्रमा पर्ने विनयी खोलामा बाढी आउँदा बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।



  • अञ्जना ढकाल
  • १ हप्ता अघि
  • पाठक संख्या ८९
  • नवलपरासी, असार १५ - निरन्तरको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास क्षेत्रमा पर्ने विनयी खोलामा बाढी आउँदा बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

    विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलामा आएको बाढीले मालवाहक सवारीसाधनका लागि बनाइएको अस्थायी डाइभर्सन बगाएपछि साना तथा यात्रुवाहक सवारीका लागि प्रयोग हुँदै आएको वैकल्पिक भित्री सडकसमेत बन्द भएको हो।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले दिएको जानकारीअनुसार, अहिले सम्पूर्ण यातायात सञ्चालन पूर्ण रूपमा ठप्प छ।

    ‘डाइभर्सन र वैकल्पिक मार्ग दुबै अवरुद्ध भएपछि सवारीसाधनहरूलाई होङ्सी गेट, सर्दी हुँदै ज्यामिरे राजमार्गमा रोकेर सुरक्षित स्थानमा राखिएको छ,’ प्रहरी उपरीक्षक ढकालले भने।

    त्यस्तै, विनयी त्रिवेणी–३ स्थित खरङ्गे खोलामा पनि पानीको बहाव अत्यधिक बढेपछि वैकल्पिक मार्गमार्फत सवारी चलाउने सम्भावना समेत बन्द भएको छ। अहिले दाउन्ने–दुम्कीवास सडक खण्डमा कुनै पनि सवारी आवतजावत गर्न नसक्ने अवस्था रहेको प्रहरीको भनाइ छ।

    स्थानीय प्रशासनका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन वर्षासँगै पटक–पटक बगाउँदै आएको छ, जसले गर्दा सडक सञ्जाल पुनः सञ्चालन गर्न कठिन भइरहेको छ।

    प्रहरी र स्थानीय प्रशासनले नागरिकलाई सुरक्षित स्थानमा रहन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेका छन्।