६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

झापाको शिवसताक्षीमा कुटपिटबाट गम्भीर घाइते भएका दुई किशोरको मृत्यु

पहिलोपटक सामान्य कुटपिट गरेपछि उनलाई ‘जा’ भनेर पठाइएको थियो। तर केही समयपछि पुनः बोलाएर सोही समूहले पुनः कुटपिट गरेका थिए।



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १४६
  • झापा, असार १९ – झापाको शिवसताक्षी नगरपालिका–९ मा कुटपिटबाट गम्भीर घाइते भएका दुई किशोरको मृत्यु भएको छ। संगम चोकका १५ वर्षीय आदित्य तामाङको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा बुधबार दिउँसो निधन भएको हो।

    यसअघि उनका साथी रोमन थापाको पनि आइतबार बिर्ता सिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। दुबै जना सोही ट्युसन सेन्टरमा जाने साथी थिए।

    केही दिनअघि ट्युसन पढेर घर फर्कने क्रममा दुधेको ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका केही विद्यार्थीहरूले आदित्यमाथि कुटपिट गरेका थिए। प्रत्यक्षदर्शी विद्यार्थीका अनुसार पहिलोपटक सामान्य कुटपिट गरेपछि उनलाई ‘जा’ भनेर पठाइएको थियो। तर केही समयपछि पुनः बोलाएर सोही समूहले पुनः कुटपिट गरेका थिए।

    कुटपिटपछि आदित्यले घटनाबारे परिवारमा जानकारी गराएका थिएनन्। भोलिपल्ट उनी ट्युसनमा नगए पनि विद्यालयमा भने उपस्थित भएका थिए। विद्यालयमा अनुहार सुन्निएको र ढाड दुखेको बताएपछि स्वास्थ्य अवस्था बिग्रँदै गएर उनलाई शुक्रबार दिउँसो अस्पताल भर्ना गरिएको थियो। बुधबार दिउँसो उपचारका क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।

    कुटपिट घटनामा संलग्न भएको आशंकामा प्रहरीले हालसम्म ६ किशोरलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूले संलग्नता स्वीकार गरेको प्रहरीको भनाइ छ। घटनामा अरू पनि संलग्न हुन सक्ने आशंका गरिएको छ।

    मृतक आदित्य राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका विद्यार्थी थिए। कुटपिटको भोलिपल्ट केही साथीहरूले दोषीमाथि बदला लिनुपर्ने बताएका थिए। तर आदित्यले ‘छोडिदेऊ, झगडा नगरौं’ भन्दै सम्झाएको साथीहरूले बताएका छन्।

    दुबै मृतकका परिवारले घटनाको निष्पक्ष छानबिन गर्दै दोषीहरूमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।