काठमाडौं, असार २४ - रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा आएको बाढीले १ सयभन्दा बढी गाडी बगाएको प्रारम्भिक अनुमान गरिएको छ।
नेपाल इन्टरमोडल ट्रान्सपोर्ट विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार बगेका सवारीमध्ये अधिकांश मालवस्तु बोकेका गाडी हुन्। उनका अनुसार यार्डमा जम्मा २३० वटा गाडी पार्किङ गरिएको थियो। तीमध्ये केही गाडी राति नै सुरक्षित स्थानमा सारिएको जानकारी पनि आएको छ।
‘अहिले घटनास्थलमा क्षतिको विवरण संकलन भइरहेको छ, ठ्याक्कै कति गाडी बगे र कस्तो क्षति भयो भन्ने जानकारी पछि मात्र स्पष्ट हुनेछ,’ गजुरेलले भने।
उनका अनुसार केही इभी गाडी भने यार्डको केही पर राखिएका कारण कम क्षति भएको अनुमान गरिएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीका अनुसार अहिले बाढीले कति गाडी बगाएको र ती कुन-कुन ब्राण्डका हुन् भन्नेबारे विवरण सङ्कलन भइरहेको छ। ‘हामी सरकारसँग समन्वय गरेर तथ्यांक सङ्कलन गरिरहेका छौं,’ उनले जानकारी दिए।
प्राकृतिक प्रकोपका कारण ठूलो आर्थिक क्षति हुन सक्ने अनुमान गरिएको छ। यस विषयमा सम्बन्धित निकायले थप विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस