२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

श्रीमान् अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि साथी बोलाई कुटपिट, एक युवतीको मृत्यु, छ जना पक्राउ



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या २१३
  • झापा, असार २५ – झापाको अर्जुनधारामा एक युवतीको सामूहिक कुटपिटबाट ज्यान गएको छ। मृतकको पहिचान अर्जुनधारा नगरपालिका–४ भाङवारी घर भई हाल वडा नम्बर ८ शनिश्चरे क्याम्पस नजिक डेरा गरी बस्ने २२ वर्षीया गंगा राईका रूपमा गरिएको छ।

    घटनाको अनुसन्धानका क्रममा प्रहरीले दिएको जानकारी अनुसार गंगाको कोठामा आफ्ना श्रीमान् गएको थाहा पाएपछि ३२ वर्षीया सुस्मिता भुसालले आक्रोशमा आइ साथीहरूलाई बोलाएर गंगामाथि कुटपिट गराएकी थिइन्।

    मंगलबार राति करिब ११:३० बजेको समयमा भोजपुर घर भई हाल अर्जुनधारा–८ बस्दै आएकी सुस्मिताले स्थानीय ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता विक, २४ वर्षीया मेनुका पाँचकोटे, र ६० वर्षीया नर्बदा सुनदासलाई बोलाएर गंगालाई निर्घात कुटपिट गरेकी थिइन्।

    गम्भीर घाइते भएकी राईलाई प्रारम्भिक उपचारका लागि शनिश्चरेस्थित शंकर अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल पठाइएकोमा उपचारकै क्रममा बुधबार बिहान १:२० बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

    प्रहरीले घटनामा संलग्न पाँच महिला र सुस्मिता भुसालका श्रीमान् रमेश भुसाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।