२६ साउन २०८२ सोमबार | 11 Aug 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

स्पेनबाट नफर्केका नेपालीबारे रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ

श्रेष्ठले भनिन्, “भ्रष्टाचारीको अनुहार हेर्न सक्दिन भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौं।”



  • अञ्जना ढकाल
  • ४ हप्ता अघि
  • पाठक संख्या १८९
  • काठमाडौं, असार २९ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पेन पुगेका नेपालीहरू फर्किन नसकेको घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्ट जवाफ माग गरेको छ।

    आइतबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध जनाए। सभामुखले समय दिएको अवसरमा सांसद सुमना श्रेष्ठले उक्त विषयलाई सदनमा गम्भीर रूपमा उठाउँदै प्रधानमन्त्रीको जवाफ आवश्यक रहेको बताइन्।

    श्रेष्ठले भनिन्, “भ्रष्टाचारीको अनुहार हेर्न सक्दिन भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौं।”

    उनले स्पेनको सेल्भिस घटनाले विगतदेखि उठाउँदै आएको विषय थप प्रमाणित भएको बताउँदै भनिन्, “यो घटना कति गम्भीर, सान्दर्भिक र औचित्यपूर्ण हो भन्ने प्रमाण यही प्रकरण हो।”

    श्रेष्ठले बिचौलियाहरूलाई न डर, न संकोच हुनु दुःखद भएको उल्लेख गर्दै प्रश्न गरिन्, “सदनमा आन्दोलन भइरहँदा समेत मानव तस्कर र स्मगलरहरू किन निडर देखिन्छन्? कसको अकर्मण्यताले यस्तो साहस पलायो?”

    सांसद श्रेष्ठले देशको उच्चतम निकायको गरिमा संकटमा परेको आरोप लगाउँदै भनिन्, “सदनको गरिमा निलो रिवनमा होइन, यस्ता संवेदनशील विषयमा खोजिनुपर्छ, सभामुखज्यू।”

    उनले २०७८ साल फागुनमा गठित भिजिट भिसासम्बन्धी कार्यदलको सन्दर्भ पनि उठाइन्, जसमा विभिन्न मन्त्रालयका सह–सचिवहरूको टोली रहेको र त्यसले तयार पारेको प्रतिवेदन गृह मन्त्रालयको कुनामा बेवास्ता भएको आरोप लगाइन्।

    कोभिडपछिको समयमा दुबईमा नेपालीहरू समस्यामा परेको प्रसंग जोड्दै श्रेष्ठले अहिलेको कार्यदल पनि अघिल्लो जस्तै प्रभावहीन रहेको बताइन्।

    मानव तस्करीको जालो ठूलो भएको भन्दै उनले यसको पूर्ण छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरिन्।