६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विप्लवको टिप्पणी : ‘गणतन्त्रमा फूल होइन, झारपात मौलाए’



  • अञ्जना ढकाल
  • ४ हप्ता अघि
  • पाठक संख्या १४६
  • काठमाडौं, साउन ७ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गणतन्त्रको नाममा मुलुकमा अवाञ्छित तत्वहरू मौलाएको टिप्पणी गरेका छन्।

    बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गणतन्त्रको वास्तविक मर्म लोप हुँदै गएको भन्दै आलोचना गरे। “गणतन्त्र त आएको छ, तर त्यसमा फूल होइन, झारपात मौलाएका छन्,” उनले भने, “गणतन्त्रका फूलहरू हेर्न अब झारपात उखेलेर खोज्नुपर्ने अवस्था आएको छ।”

    विप्लवले दलाल प्रवृत्तिहरू गणतन्त्रको छायाँमा मौलाएको आरोप लगाए। उनले भने, “राजनीतिमा अहिले यस्ता दलहरू छन्, जो बर्खामा उम्रिएको च्याउ जस्ता हुन्। कुन फूल हो र कुन झारपात भन्नेमा जनता अन्योलमा परेका छन्।”

    उनको भनाइमा, गणतन्त्रको नाममा आएको व्यवस्था दलालशाही र अवसरवादले भरिएको छ। उनले स्पष्ट रूपमा दलाल प्रवृत्तिलाई हटाउनुपर्ने र कम्युनिष्ट आन्दोलनलाई एकता, सहकार्य र स्पष्ट दृष्टिकोणका साथ अघि बढाउनु आवश्यक रहेको बताए।

    “हामी एकताको कुरा त गर्छौं, तर हाम्रैबीचमा उकुसमुकुस छ,” विप्लवले भने, “हामीलाई आवश्यक छ सहकार्य, मोर्चा र नयाँ दृष्टिकोण। समाजको नयाँ व्याख्या गर्न सक्ने क्षमताका साथ हामी अघि बढ्नुपर्छ।”

    उनले अहिलेको समय निर्णायक रहेको उल्लेख गर्दै दलाल प्रवृत्तिविरुद्ध कडा र स्पष्ट रणनीति आवश्यक भएको धारणा राखे। “आज पनि जरुरत परे पहाड जस्तै ठूला अवरोध भत्काउन तयार छौं,” उनले भने, “हामीलाई थाहा छ, कुनकुन खाल्डोमा दलाल प्रवृत्तिलाई हाल्नुपर्छ।”

    महासचिव चन्दले कम्युनिष्ट शक्तिहरूबीच सैद्धान्तिक स्पष्टता र साझा दृष्टिकोणको आधारमा एकता आवश्यक रहेको धारणा पुनः दोहोर्‍याए।