काठमाडौं, साउन ९ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टी त्याग गरेर होइन, जिम्मेवारी लिएर राष्ट्रपति बनेको स्पष्ट पार्दै एमाले पार्टीमा पुन: सक्रिय सहभागिता जनाइरहेको बताएकी छिन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले नेकपा एमालेको सदस्यता आफूले विधिअनुसार नवीकरण गरिसकेको जानकारी दिइन्। उनले पार्टीसँगको सम्बन्धलाई अडिग बताउँदै भनिन्, “अहिले कसैले चाहँदैमा मेरो सदस्यता खोस्न सक्छ जस्तो लाग्दैन।”
उनको भनाइमा राष्ट्रपतिको पद सम्हाल्नुअघि ३५ वर्षसम्म पार्टी सदस्यको रूपमा योगदान दिएकी थिइन्। "म पार्टी परित्याग गरेर होइन, पार्टीकै जिम्मेवारीमा राष्ट्रपतिको भूमिकामा पुगेकी हुँ," उनले भनिन्, "र अहिले पनि म एमालेको परिवारमा आबद्ध छु।"
पूर्वराष्ट्रपतिले पार्टी सदस्यता विषयलाई लिएर हाल भइरहेको टिप्पणीप्रति आपत्ति जनाउँदै आफू प्रक्रियाअनुसार पार्टी जीवनमा पुन: सक्रिय भएको स्पष्ट गरेकी हुन्।
प्रतिक्रिया दिनुहोस