पाल्पा, भदौ १ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारलाई कसैले ढाल्न नसक्ने दाबी गरेका छन्। आइतबार पाल्पामा पत्रकारहरूसँग कुरा गर्दै उनले २०८४ सालको आम निर्वाचनसम्म गठबन्धनको सरकार निरन्तर रहने विश्वास व्यक्त गरे।
उनका अनुसार प्रतिनिधि सभाको अंकगणित नै सरकारलाई स्थिरतामा पुर्याउने आधार बनेको छ। "रोई कराई गरेर वा नानाथरी बोलेर यो सरकार ढल्दैन," मन्त्री पौडेलले भने, "स्थिरताको प्रत्याभूति अहिलेको समीकरणले नै दिलाउँछ।"
अस्थिरताका कारणका रूपमा रहेका राजावादी तत्व, दिशाहीन एजेन्डाविहीन राजनीति र प्रमुख प्रतिपक्षी दलको चलखेल अहिले किनारा लागेको बताउँदै उनले ती प्रवृत्तिहरू अब समाप्त भएको दाबी गरे। पौडेलले व्यवस्थाविरोधी र जनतालाई भ्रमित पार्नेहरूलाई कुनै भविष्य नभएको टिप्पणी गरे।
अर्थमन्त्री पौडेल पाल्पामा अंग्रेजलाई पराजित गरेको विजय उत्सवको अवसरमा मनाइने रणउजेश्वरी भगवतीको ऐतिहासिक रथयात्रामा सहभागी हुन पुगेका थिए।
प्रतिक्रिया दिनुहोस