६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गाजामा बालबालिका नुन र पानीमा गुजारा, २२ महिनामा ८१ बालबालिकासहित १२४ को मृत्यु



  • एजेन्सीको सहयोगमा
  • ४ हप्ता अघि
  • पाठक संख्या १८३
  • काठमाडौँ, साउन ११ - इजरायल-हमास युद्ध जारी रहँदा गाजा क्षेत्र भोकमरीको चपेटामा परेको छ।

    खाद्यान्न आपूर्तिमा इजरायलले लगाएको रोकले गाजाका नागरिकहरू चरम संकटमा परेका छन्। पछिल्ला तथ्यांक अनुसार, युद्ध सुरु भएको २२ महिनाको अवधिमा भोक र कुपोषणका कारण कम्तीमा १२४ जनाको मृत्यु भइसकेको छ, जसमा ८१ जना बालबालिका छन्।

    गाजाबाट प्राप्त रिपोर्टहरू अनुसार धेरै बालबालिकाहरू नुन चाटेर र पानी पिएर पेट भरिरहेका छन्। खाद्यान्नको अत्यधिक अभावका कारण ५० ग्रामको बिस्कुटको मूल्य एक हजार रुपैयाँभन्दा बढी पुगेको छ। नगद झिक्नका लागि ४५ प्रतिशतसम्मको कमिसन तिर्नुपर्ने बाध्यता छ।

    विदेशी पत्रकारलाई गाजामा प्रवेश निषेध गरिएकाले त्यहाँको यथार्थ अवस्था स्थानीय सञ्चारकर्मीहरूले मात्र विश्वसामु ल्याइरहेका छन्। एक गाजा निवासी पत्रकारका अनुसार उनी युद्ध सुरु भएयता ३० किलो वजन घटेर शारीरिक थकान र रिंगटाबाट पीडित छन्।

    दक्षिण गाजाको सबैभन्दा ठूलो नासिर अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीका अनुसार अहिले कुपोषणग्रस्त बालबालिकाको संख्या ह्वात्तै बढेको छ। युद्ध सुरुमा अस्पतालमा मुख्यतः बम आक्रमणबाट घाइते हुनेहरू आइपुग्थे भने अहिले कुपोषणका कारण बिरामी भएका बालबालिका भर्ना हुँदै आएका छन्।

    संयुक्त राष्ट्रसंघको रिपोर्ट अनुसार गाजाको करिब एक तिहाइ जनसंख्याले धेरै दिनमा एकपटक मात्र भोजन गर्न पाएका छन्।

    मानवीय संकट तीव्र हुँदै गएपछि इजरायली सेनाले गाजामा हवाई मार्गबाट सहायता आपूर्ति सुरु गरिसकेको छ। अमेरिकाका लागि इजरायली राजदूत येचिएल लाइटरले आइतबारदेखि मानवीय सहायता कोरिडोर खोलिने जानकारी दिएका छन्।

    अर्कोतर्फ, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई ‘मृत्युकामुखी समूह’ भन्दै इजरायललाई आफ्नो लक्ष्य पुरा गर्न सैन्य कारबाही अझ तीव्र बनाउने सुझाव दिएका छन्।

    यसैबीच, गाजाको सरकारी सञ्चार माध्यमले इजरायली सेनामाथि गम्भीर आरोप लगाएको छ। गाजा ह्युम्यानिटेरियन फाउन्डेसनमार्फत वितरण गरिएको पीठोका बोरा भित्र लागूपदार्थ अक्सिकोडोनका गोली भेटिएको दाबी गरिएको छ। उक्त संस्था इजरायली सेनाद्वारा सञ्चालित र अमेरिकी समर्थन प्राप्त मानिन्छ।

    गाजाको मानवीय अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएको छ। यदि शीघ्र ठोस कदम नचालिए, यस संकटले अझ धेरै निर्दोष बालबालिकाको ज्यान लिने देखिन्छ।