काठमाडौं, साउन १२ – सामाजिक सञ्जालमा लोकप्रियता कमाएका टिकटकर तथा कन्टेन्ट क्रिएटर आयुष सिंह ठकुरी अब चलचित्रमार्फत अभिनयमा डेब्यू गर्न लागेका छन्। निर्देशक माइकल चन्दको निर्देशन रहने नयाँ नेपाली फिल्म ‘राम नाम सत्य’मा उनले पहिलोपटक अभिनय गर्दैछन्।
फिल्मका निर्देशक चन्द र निर्माता उपेन्द्र शाहीसँग ठकुरीले हालै कागजी सम्झौता गरेका हुन्। ठकुरीले यसअघि पनि केही फिल्म अफरहरू पाएका भए पनि ‘राम नाम सत्य’को कथा मन परेपछि अभिनय गर्ने निर्णय लिएको बताए।
उनले मिडियासँग भने, “धेरै फिल्म अफर आए, तर यो फिल्मको कथा विशेष लाग्यो। यो नै मेरो डेब्यू फिल्म बन्नेछ।”
फिल्ममा आफ्नो भूमिकालाई प्रभावशाली बनाउन उनले एक्सन तालिम लिइरहेका छन् भने अभिनय प्रशिक्षण पनि सुरु गरेका छन्। निर्देशक चन्दका अनुसार ठकुरी निकै मिहिनेतका साथ तयारीमा जुटिरहेका छन्।
फिल्मको छायांकन साउन २९ गतेदेखि सुरु हुने तयारीमा छ। एक्सन, सस्पेन्स र प्रेमकथाको मिश्रण रहने भनिएको यस फिल्ममा यसअघि नै विराज भट्ट, सुशिल श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, र रवि गिरी अनुबन्धित भइसकेका छन्। एक अभिनेत्रीको छनोटपछि कलाकारको सूची पूरा हुने जनाइएको छ।
उपेन्द्र शाही र श्वेता विमली निर्माता रहेको फिल्ममा किशोर भट्ट र डा. डीआर उपाध्याय सह-निर्माताको रूपमा जोडिएका छन्। तेजविक्रम केसी हेड अफ प्रोडक्सन रहेका छन् भने नविनजंग शाह प्रोडक्सन कन्ट्रोलरको भूमिकामा छन्।
सञ्जय लामाको छायांकन रहने फिल्म चितवन र काठमाडौंमा खिचिनेछ। संगीतमा अर्जुन पोखरेल र बाबुल गिरीको संयोजन रहनेछ। फिल्म माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुँदैछ।
यसअघि निर्माता किरण नेपालीले आयुष र उनकी पत्नी एलिजेलाई पनि फिल्म अफर गरेका थिए भने त्यसबारे थप जानकारी आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस