६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मुख्यमन्त्री शाहले साउन १५ गते प्रदेशसभाबाट विश्वासको मत लिने



  • अञ्जना ढकाल
  • ३ हप्ता अघि
  • पाठक संख्या ९४
  • सुदूरपश्चिम, साउन १२ - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आउँदो साउन १५ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन्। संविधानअनुसार समर्थन फिर्ता भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यताका कारण शाहले उक्त दिन प्रदेशसभा बैठकमा मत लिने तयारी गरेका हुन्।

    नेपाली कांग्रेस संसदीय दलको सोमबार बसेको बैठकले दलका नेता समेत रहेका मुख्यमन्त्री शाहलाई पूर्ण समर्थन गर्ने निर्णय गरेको छ। बैठकपछि दलका सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ह्विप समेत जारी गरिएको कांग्रेस संसदीय दलले जनाएको छ।

    यसअघि सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले असार २० गते समर्थन फिर्ता लिएको थियो। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गरिएको केही दिनपछि नाउपाले समर्थन फिर्ता लिएको हो। चौधरीमाथि आर्थिक पारदर्शिता र सुशासनमा कमजोरी देखिएको भन्दै मुख्यमन्त्रीले उनलाई पदबाट हटाएका थिए।

    नाउपाले समर्थन फिर्ता गरे पनि सरकारसँग अझै पनि बहुमत कायम रहेको बताइएको छ। ५३ सदस्यीय प्रदेशसभामा कांग्रेससँग १८, एमालेसँग ११, माओवादी केन्द्रसँग ११, एकीकृत समाजवादीसँग ४ (एकजना निलम्बित), राप्रपासँग १ र एक स्वतन्त्र सदस्य छन्। नाउपाका सात सदस्यले समर्थन फिर्ता गरे पनि हालसम्मको अंकगणितले सरकारलाई सुरक्षित बनाइरहेको देखिन्छ।

    संविधानको धारा अनुसार साउन १७ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने प्रावधान छ। शाह नेतृत्वको सरकारलाई यसपटक पनि बहुमत प्राप्त हुने अपेक्षा गरिएको छ।