काठमाडौं, साउन १८ -सरकारी साक्षीको भूमिकामा रहेका एक व्यक्तिले नै घुस दिएको पुष्टि भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
बाँके जिल्लाको कोहलपुर नगरपालिका निवासी डम्बरबहादुर बुढाथोकीविरुद्ध आइतबार अख्तियारले भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दर्ता गरेको हो।
प्रवक्ता राजेन्द्र पौडेलका अनुसार, बुढाथोकी सरकारविरुद्ध चलिरहेको भ्रष्टाचार मुद्दामा साक्षीका रूपमा अदालतमा प्रस्तुत भएका थिए। सो मुद्दाका प्रतिवादीमध्ये रतनबहादुर जिसी रहेका छन्।
तर, अनुसन्धानको क्रममा बुढाथोकी स्वयंले पनि उक्त मुद्दासँग सम्बन्धित जग्गा मुआब्जा प्रक्रिया सहज बनाउन २० हजार रुपैयाँ घुस दिएको प्रमाण फेला परेको अख्तियारको दाबी छ।
अख्तियारका अनुसार बुढाथोकीले शान्ति पुन (बिचौलिया), रतनबहादुर जिसी, हरिचन्द्र पाण्डे र घनश्याम तिवारीलाई सो घुस रकम दिएका थिए।
बुढाथोकीले २०८२ साल असार २६ गतेको दिन अख्तियारका अनुसन्धान अधिकृतसमक्ष दिएको बयान मुद्दाको कार्यवाहीलाई प्रभावित पार्ने खालको रहेको समेत आयोगले जनाएको छ।
घटनापछि अब सरकारी साक्षीको भूमिकामा रहेकाहरूको नैतिकता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ।
प्रतिक्रिया दिनुहोस