३१ साउन २०८२ शनिबार | 16 Aug 2025 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

टेकु अस्पतालमा डेंगुबाट २४ वर्षीय युवकको मृत्यु



  • अञ्जना ढकाल
  • १८ घण्टा अघि
  • पाठक संख्या ४२
  • काठमाडौं, साउन ३० - राजधानीस्थित टेकु अस्पतालमा उपचाररत २४ वर्षीय युवकको डेंगु संक्रमणका कारण मृत्यु भएको छ। यस वर्ष डेंगुका कारण मृत्यु भएको यो पहिलो घटना हो। मृतकलाई आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार हालसम्म देशभर २,९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। डेंगु अहिलेसम्म ७४ जिल्लामा फैलिसकेको छ भने गत एक सातामात्र १८० नयाँ संक्रमित थपिएका छन्।

    प्रदेशगत विवरणअनुसार बागमतीमा सबैभन्दा धेरै २९८ संक्रमित छन्। त्यसपछि कोशीमा ४७, गण्डकीमा २७, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ संक्रमित भेटिएका छन्।

    डेंगु फैलाउने एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस जातका लामखुट्टेले सफा पानी जम्ने स्थानमा अण्डा पार्ने गर्छन्। वर्षाको पानी जम्ने गमला, ट्यांकी, बोतल, थोत्रा टायर, खाली ड्रम जस्ता स्थान यसका मुख्य स्रोत मानिन्छन्।

    नेपालमा पहिलोपटक सन् २००४ मा चितवनमा एक विदेशी नागरिकमा डेंगु पत्ता लागेपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा पनि संक्रमण फैलियो। पछिल्ला वर्षहरूमा भने डेंगु स्थानीय रूपमा वर्षभर फैलिने रोग बनेको विज्ञहरू बताउँछन्।

    सन् २०२२ मा सबै ७७ जिल्लामा ५४ हजारभन्दा बढी संक्रमित भेटिँदा ८८ जनाले ज्यान गुमाएका थिए। २०२३ मा ५२ हजारभन्दा बढी संक्रमितमध्ये २० जनाको मृत्यु भयो। गत वर्ष २०२४ मा ४१ हजार ८६५ संक्रमितमध्ये १५ जनाको मृत्यु भएको थियो।

    स्वास्थ्यकर्मीका अनुसार संक्रमितलाई २–७ दिनसम्म ज्वरो आउँछ। ज्वरो घटेपछि २४–४८ घण्टा अति संवेदनशील समय मानिन्छ, जसमा रक्तस्राव, रक्तचाप घट्ने, पेट दुख्ने, कालो दिसा, नाक वा गिजाबाट रगत आउने जस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्ने हुन्छ।

    विज्ञहरूले डेंगु नियन्त्रणका लागि ‘खोज तथा नष्ट’ अभियानलाई प्रभावकारी उपाय मान्छन् र यसको सफलताका लागि नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्।