ललितपुर, साउन ३० — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन भइरहेका सबै सामाजिक सञ्जाल अनिवार्य रूपमा दर्ता गर्नुपर्ने बताएका छन्।
शुक्रबार ललितपुरमा आयोजित ‘डिजिटल फ्रेमवर्क २०२५’ कार्यक्रममा उनले दर्ता नगरी सञ्चालन भइरहेका प्लेटफर्ममाथि सरकारको निगरानी कडा पारिने चेतावनी दिए।
उनका अनुसार नेपालमा हुने सबै कारोबार देशको कानुनको दायरामा हुनुपर्छ र प्रयोग भइरहेका कम्पनीहरूले कार्यालय स्थापना गरेर दर्ता गराउनैपर्ने छ। उनले मेटा जस्ता कम्पनीहरूलाई बारम्बार आह्वान गरिए पनि अहिलेसम्म दर्ता नगरेको र यसलाई अटेर गरिएको उल्लेख गरे।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि सरकारको तर्फबाट पटक–पटक दर्ताका लागि आग्रह गरिरहेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नेपालको कानुन र कर प्रणालीको पालना नगर्ने कम्पनीविरुद्ध ठोस कदम चालिने चेतावनी दिए।
त्यस अवसरमा उनले सञ्चार मन्त्रालयलाई देशका सबै क्षेत्रमा इन्टरनेट सेवा पुर्याउन निर्देशन पनि दिएका छन्।
प्रतिक्रिया दिनुहोस