गोरखा, भदौ ११ – गोरखाको चुमनुब्री गाउँपालिका–६ का वडाध्यक्ष सरोज लामा रोजगारीका लागि जर्मनी गएका छन्।
माओवादी केन्द्रबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका लामा सामाजिक सञ्जालमार्फत् राजनीति छाड्ने घोषणा गर्दै विदेशिएका हुन्।
उनले आफ्नो स्टाटसमा लेखेका छन्, “ईमान्दारीपूर्वक काम गर्दा पनि कहिल्यै जस नपाएको महसुस भयो, त्यसैले अब राजनीति जीवनबाट सदाका लागि विदा लिएको छु। शून्यबाट फेरि नयाँ सुरुवात गर्न परदेश लाग्दैछु।”
वडाध्यक्ष लामाले प्रस्थान अघि वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहकको जिम्मेवारी दिएका छन्।
प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार वडाध्यक्ष लामाले औपचारिक राजीनामा भने अझै पेश गरेका छैनन्। उनले भने, “कार्यवाहक तोकेर विदेश जानुभएको छ। सुनेअनुसार उहाँ स्वदेश नफर्कने रे। पछि औपचारिक राजीनामा पनि आउने होला।”
प्रतिक्रिया दिनुहोस