काठमाडौँ, भदौ १२ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशको राजनीति तथा कम्युनिस्ट आन्दोलन दिशाहीन बनेको टिप्पणी गरेका छन्। बुटवलमा आयोजित ‘वर्तमान राजनीतिक संकट र निकास’ विषयक अन्तरक्रियामा बोल्दै उनले नेताहरूले जनतालाई भ्रामक दिशामा लगिरहेको आरोप लगाए।
विप्लवका अनुसार अहिलेको परिस्थिति केवल पार्टीगत विवाद मात्र नभई समाजकै असन्तुलनको प्रतिफल हो। उनले भने, “ठूलो–सानो सबै दलभित्र लडाइँ छ। दुई–चार जनाले मुक्कामुक्की नगरेको पार्टी भेटिन्न।”
उनले पुरानो कानुन, सिमित व्यक्तिहरूमाझ सीमित अर्थतन्त्र र बढ्दो भ्रष्टाचारलाई राजनीतिक संकटको मूल कारणका रूपमा औंल्याए। उनले गणतन्त्र स्थापनापछि पनि जनताले त्यसको लाभ पाउन नसक्दा असन्तुष्टि चुलिएको बताए।
विप्लवले जनताको आकांक्षा, विश्वास र एकतालाई प्रतिबिम्बित गर्ने नयाँ राजनीतिक शक्तिको आवश्यकता रहेको उल्लेख गरे। “जनताले समानता र स्वतन्त्रता खोजिरहेका छन् तर कुन वर्गको राज्य हो भन्ने निर्णय नै भएको छैन,” उनको भनाइ थियो।
पूर्व सहकर्मी नेताहरूका निर्णय र अभिव्यक्तिले पनि प्रणालीगत कमजोरी प्रष्ट भएको उनको टिप्पणी छ। उनले अहिलेको प्रवृत्तिले निरन्तरता पाए देशको राजनीति “भिरबाट हाम्फाल्ने अवस्थामा पुग्ने” चेतावनी दिए।
प्रतिक्रिया दिनुहोस