२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ताप्लेजुङको होक्मा गाउँमा पहिरो, ६ घर परिवार विस्थापित



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या १४५
  • ताप्लेजुङ, भदौ १६ – अविरल वर्षापछि ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–६ पेदाङस्थित होक्मा बस्ती पहिरोको उच्च जोखिममा परेको छ। गए राति आएको पहिरोले गाउँका ६ घर परिवारलाई विस्थापित हुन बाध्य बनाएको स्थानीयले बताएका छन्।

    स्थानीयवासी खेलप्रसाद बुढाक्षेत्री परागका अनुसार हाङमाया थुङ्गिमको घरमा सबैभन्दा बढी खतरा देखिएको छ। साथै, जगत भण्डारी, भीमबहादुर भण्डारी, अम्बरध्वज लिम्बू, शिवलाल भण्डारी र टङ्क भण्डारीका घरसमेत पहिरोको जोखिममा परेका छन्।

    चिचिहाङ बस्तीको तलबाट झरेको पहिरोले बस्तीमाथि निरन्तर दबाब सिर्जना गरेको छ। हाङमायाको परिवार राति नै छिमेकीको घरमा गएर बस्नुपरेको छ भने अन्य परिवार पनि सुरक्षित स्थानतर्फ सरेका छन्।

    हाल वर्षा रोकिए पनि समय–समयमा पहिरो खसिरहेकाले गाउँका बासिन्दा त्रासमा रहेका छन्। स्थानीय प्रशासन र वडाले जोखिम मूल्याङ्कन गरी थप क्षति रोक्न पहल थाल्ने तयारी गरेको जनाइएको छ।