काठमाडौं, भदौ १८ – नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा गरिएको ठगी प्रकरणको अन्तिम सुनुवाइ काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ।
न्यायाधीश धुव्रराज कार्कीको इजलासमा भइरहेको सुनुवाइमा हालसम्म ३३ जना प्रतिवादी रहेका छन्।
२०७६ जेठमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को पालामा पूर्वसहसचिव बालकृष्ण पन्थी संयोजकत्वमा कार्यदल गठन भएपछि ठगी प्रक्रिया थालिएको प्रहरी अनुसन्धानले जनाएको छ। उक्त कार्यदलको प्रतिवेदनमा नक्कली नाम समावेश गरेर अमेरिका पठाउने भन्दै रकम असुलिएको खुलेको हो।
पहिलो चरणमा ११३ पीडितका २८ उजुरीका आधारमा ३० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। दोस्रो चरणमा थप पूरक जाहेरी आएपछि गोकुल थापा र उनकी पत्नी रमा थापासहित अन्यलाई प्रतिवादी बनाइएको थियो। त्यसपछि असार २०८१ मा बेचन झा पक्राउ परेपछि प्रतिवादीको संख्या ३३ पुगेको हो।
प्रतिवादीमध्ये २२ जना पक्राउ परिसकेका छन् भने ११ जना अझै फरार छन्। फरारमध्ये इन्द्रजित राईका छोरा निरज राई, झापाका सुनिल बुढाथोकी, मोरङकी विनिता सावदेन लिम्बु, अशोक पोखरेललगायत छन्।
२२ पक्राउ परेकामध्ये ११ जना पुर्पक्षका लागि कारागारमा छन्। जसमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, इन्द्रजित राई, उनका छोरा प्रतिक, सचिव टेकनारायण पाण्डे, नेता आङटावा शेर्पा लगायत छन्।
त्यसैगरी, ७ जना धरौटीमा बाहिर छन्। कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका निजी सचिव नरेन्द्र केसी, शमशेर मियाँ, टेकनाथ रिजाललगायत धरौटीमा रिहा भएका हुन्। बाँकी ४ जना साधारण तारेखमा बाहिर रहेका छन्।
यसरी तीन चरणमा दायर मुद्दामा ठगी, राज्यविरुद्धको अपराध र संगठित अपराधलगायतका अभियोग लगाइएको छ।
प्रतिक्रिया दिनुहोस