चितवन, असोज ५ - झण्डै दुई दिनदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड खोल्ने प्रयास जारी छ । तुइन खोलाको पूर्वतर्फ गएको ठूलो पहिरो नझरे आज दिउँसो ३ बजेसम्म सडक सञ्चालनमा ल्याउन सकिने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार आज बिहानैदेखि पहिरो पन्छाउने काम सुरु भएको हो । “सुख्खा पहिरो झर्ने क्रम रोकिने हो भने दिउँसो सडक खुलाउन सकिन्छ,” उनले जानकारी दिए । हाल चारवटा मेसिनमार्फत काम भइरहेको छ ।
अहिले पनि सडकमा करिब ३५ मिटर अग्लो पहिरो थुप्रिएको छ । माथिल्लो भागमा पत्रे चट्टानका कारण जोखिमपूर्ण अवस्था रहे पनि काम निरन्तर भइरहेको आचार्यले बताए ।
असोज ३ गते बेलुकी ठूलो पहिरो खस्दा बाटो अवरुद्ध भएपछि मुग्लिन र नारायणगढबीच सयौं सवारी साधन अलपत्र परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले काठमाडौंतर्फ जाने सवारीलाई कुरिनटार, मुग्लिन र फिस्लिङमा रोकिएको जानकारी दिएको छ भने भरतपुरतर्फ जाने सवारीलाई टाँडी, भण्डारा, आँपटारी, जुगेडी र रामनगर क्षेत्रमा रोकिएको छ ।
यात्रुहरुलाई असुविधा कम गर्न विभिन्न संघसंस्था र व्यक्तिहरुले खाना, पानी तथा खाजाको निःशुल्क वितरण गरेका छन् । मुग्लिन बजारमा जेसीज इच्छाकामनाले यात्रुहरुलाई खानेकुरा उपलब्ध गराइरहेको छ भने नारायणगढतर्फ पनि सामाजिक संस्थाहरुले चाउचाउ, पानी र खाजा बाँडिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस