काठमाडौं, असोज ४ – इजरायलसँगको युद्ध तीव्र भइरहेका बेला हमासले बन्दी बनाइएका ४८ जनाको तस्बिर सार्वजनिक गरेको छ। सार्वजनिक तस्वीरमा गोरखाका नेपाली विद्यार्थी विपिन जोशी पनि देखिएका छन्।
गाजा सहरमा इजरायली सेनाको कब्जा अभियान तीव्र हुँदै गर्दा हमासको सशस्त्र विङ कस्साम ब्रिगेडले अनलाइनमार्फत ती तस्वीरहरू सार्वजनिक गरेको हो। तीमध्ये केही जीवित र केही मृत बन्दी रहेको जानकारी अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ।
विपिन जोशीको परिवारले यसबारे अझै आधिकारिक जानकारी पाएको छैन। “हामी निरन्तर इजरायलमा सम्पर्क गरिरहेका छौँ,” परिवारजनले बताएका छन्।
सार्वजनिक तस्वीरमा सबैजना ‘रोन अरद’ नामसहित चिनाइएको छ। रोन अरद १९८६ मा लेबनानमा विमान खस्दा बेपत्ता भएका इजरायली वायुसेनाका क्याप्टेन हुन्, जसको वास्तविक अवस्थाबारे अहिलेसम्म ठोस प्रमाण भेटिएको छैन।
हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको प्रस्ताव अस्वीकार गर्दै निरन्तर आक्रमणकै कारण बन्दीहरूको जीवन संकटमा परेको चेतावनी दिएको छ। इजरायलले करिब २० बन्दी जीवित रहेको दाबी गरेको छ भने अमेरिकाले यो संख्या अझै कम हुन सक्ने आकलन गरेको छ।
सन् २०२३ अक्टोबरदेखि सुरु भएको संघर्षमा हालसम्म ६५ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको छ। निरन्तर बमबारी र युद्धका कारण हजारौँ नागरिक गाजा सहरबाट विस्थापित भएका छन्।
प्रतिक्रिया दिनुहोस