काठमाडौं, असोज २४ - इजरायल र हमासबीच भएको युद्धविराम सम्झौतापछि गाजामा रहेका बन्धकहरूको अवस्थाबारे नयाँ विवरण सार्वजनिक भएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार सोमबारसम्म गाजामा रहेका सबै बन्धकहरूलाई चरणबद्ध रूपमा रिहा गरिनेछ।
तर, हमासले इजरायलबाट अपहरण गरेका २५१ जनामध्ये अझै ४८ जना गाजामै छन्। तीमध्ये कम्तीमा २० जना जीवित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इजरायली अधिकारीहरूले बाँकी ४८ मध्ये २६ जनाको मृत्यु भइसकेको पुष्टि गरेका छन् भने बाँकी केहीको अवस्था अनिश्चित रहेको बताएका छन्।
जीवित रहेका बन्धकहरू अधिकांश २० देखि ३० वर्ष उमेरका पुरुष हुन्। अघिल्ला सम्झौताहरूमा महिला, बालबालिका र ५० वर्षभन्दा माथिका पुरुषहरूलाई पहिले नै रिहा गरिएको थियो। मृत घोषित २६ जनामध्ये इनबार हेम्यान नामकी एक महिला पनि रहेको बताइएको छ।
अज्ञात अवस्थामध्ये नेपाली बन्धक विपिन जोशी र इजरायली नागरिक तामिर निम्रोदीको नाम विशेष रूपमा उल्लेख गरिएको छ। इजरायली सरकारले उनीहरूको अवस्थाबारे ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ।
रिपोर्टका अनुसार अझै जीवित रहेको अनुमान गरिएका ११ जनालाई नोभा म्युजिक फेस्टिभलबाट अपहरण गरिएको थियो, आठ जनालाई दक्षिणी इजरायलका किबुत्जिमहरूबाट, र तीन जनालाई सैन्य क्षेत्रमा—दुई जनालाई शिविरबाट र एक जनालाई ट्याङ्कीबाट—अपहरण गरिएको थियो।
इजरायल र हमासबीचको पछिल्लो सहमति कार्यान्वयन हुने बित्तिकै बाँकी बन्धकहरूको रिहाइ प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस