१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गैरआवासीय नेपाली संघमा एकता प्रक्रियाको सुरुवात, आगामी जनवरीमा संयुक्त महाधिवेशन हुने



  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या ३१३
  • काठमाडौं, कात्तिक १९ - विभाजनमा परेको गैरआवासीय नेपाली संघ (एनआरएनए) पुनः एकताको दिशामा अघि बढेको छ। डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका दुई पक्षबीच सहमति जुट्दै संघलाई एकीकृत गर्ने सहमति भएको हो।

    केसी पक्षीय कार्यसमितिको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११०औं बैठकले २०२५ नोभेम्बर २ मा ‘बृहत एकताको अवधारणा’ अनुमोदन गरेको छ। उक्त सहमतिअनुसार, आगामी १२औं अन्तर्राष्ट्रिय महाधिवेशन संयुक्त रूपमा आयोजना गर्ने निर्णय भएको छ।

    संघका प्रवक्ता फणिन्द्र पन्तका अनुसार डा. बद्री केसी र महेश श्रेष्ठको संयुक्त संयोजकत्वमा महाधिवेशनका तयारीका लागि स्टेयरिङ समिति गठन गरिनेछ। उक्त समितिमा सबै पक्षका प्रतिनिधिहरू समावेश हुने र त्यसअन्तर्गत निर्वाचन समिति, अनुगमन समिति, सदस्यता व्यवस्थापन समिति तथा न्यायिक समिति गठन गरिनेछ।

    महाधिवेशन २०२६ जनवरी ३० देखि फेब्रुअरी १ तारिखसम्म सम्पन्न गर्ने प्रस्ताव गरिएको छ। पारदर्शिता सुनिश्चित गर्न सदस्यता वितरण प्रणालीलाई एमआईएस (MIS) प्रणालीमार्फत सञ्चालन गरिने र थप एक महिनासम्म सदस्यता नविकरण तथा आव्हान खुला रहने संघले जनाएको छ।

    यसबाहेक, संघमा रहेका वैधानिकता सम्बन्धी मुद्दाहरू आपसी सहमतिबाट समाधान गर्ने तथा आवश्यक परे परराष्ट्र मन्त्रालयको सहकार्यमा टुंग्याउने सहमति पनि बैठकले गरेको छ।

    यसअघि, महेश श्रेष्ठ नेतृत्वको कार्यसमितिले पनि एकताका लागि ९ बुँदे प्रस्ताव पारित गरी संघलाई पुनः एक ढाँचामा ल्याउने पहल गरेको थियो। अब भने दुबै पक्ष एकै मञ्चमा आउने संकेत देखिएको छ।